‘चन्द्रावती’ लिएर आए सर्जक मुक्तिनाथ

‘चन्द्रावती’ लिएर आए सर्जक मुक्तिनाथ


नेपाली साहित्य फाँटका प्रायजसो स्रष्टा एवम् साहित्यप्रेमी पाठकका लागि मुक्तिनाथ शर्मा नेउपानेको नाम पक्कै अपरिचित नहोला । साहित्यका विविध विधामा कलम चलाउने भए पनि खासगरी बाल साहित्य लेखनमा नेउपाने एक अब्बल सर्जकका रूपमा चिनिन्छन् । बहिर्मुखी र फरासिला स्वभावका मुक्तिनाथ शर्माको लेखनी पनि उस्तै सरल र पाठकको हृदयमा सहजै टाँसिने प्रकृतिका हुन्छन् । घुमाइफिराई नगरी प्रस्ट भाषामा लेख्ने उनको विशेषता रहेको पाइन्छ ।

हालसम्म बयालीसवटा साहित्यिक कृति (पुस्तक) प्रकाशनमा ल्याइसकेका नेउपानेको पछिल्लो कृति ‘चन्द्रावती’ (औपन्यासिक सिर्जना) हालै साहित्यिक बजारमा आएको छ । एक ग्रामीण किशोरीलाई केन्द्रीय पात्र तुल्याएर रचना गरिएको ‘चन्द्रावती’को माध्यमबाट लेखकले मूलतः किशोरवयका पाठकका लागि रमाइला सूचना र उपयोगी ज्ञान दिने सत्प्रयास गरेका छन् । यस कृतिमार्फत लेखक शर्माले किशोर–किशोरीहरूमा राष्ट्रप्रति भक्तिभाव वा माया जगाइदिने ध्येय बोकेका छन् । लेखक उनीहरूमा जाँगर भर्ने प्रयत्न गर्छन्, सहयोगी भावना ब्युँझाइदिन्छन् अनि परिश्रम गरेर असल मानिस बन्न प्रेरित गर्छन् । चन्द्रावतीलाई सानै उमेरमा बेलायतजस्तो विकसित मुलुक पुऱ्याइदिन्छन् सर्जक, र फेरि स्वदेशप्रतिको असीम मायामा लहराउँदै विदेशबाट फर्काइदिन्छन् । देशको माटो, देशको माया, आफ्नै देशवासी र आफन्तजन अनि देशमा बगाएको पसिनाजस्तो प्रिय कुरा अरू हुँदैन भन्ने चन्द्रावती पात्रमार्फत सर्जक नेउपानेले सरल भाषामा बुझाउने कोसिस गरेका छन् ।

वास्तवमै मुक्तिनाथ शर्मा गम्भीर विषयलाई पनि सरल भाषामा सुटुक्क भन्न सक्छन् । चन्द्रावतीजस्तो रमाइलो लघु उपन्यास यसैको द्योतक हो भन्दा अत्युक्ति नहोला । अक्षरधाम प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको पुस्तकको मूल्य जम्मा १४५/- रहेको छ, जो पुस्तकप्रेमीका लागि सुखद कुरा नै हो ।