अरविन्द आश्रम विद्यालयको नयाँ भवनको उदघाटन

अरविन्द आश्रम विद्यालयको नयाँ भवनको उदघाटन


काठमाडौंको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको औपचारिक उदघाटन गरिएको छ । भारत सरकारको करिव तीन करोड अनुदान सहयोगमा निर्माण भएको सो विद्यालय भवनको औपचारिक उद्घाटन भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले गरेका हुन् ।

नयाँ भवन उदघाटनका लागि बुधबार (२२ जनवरी) आयोजित विशेष समारोहमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीहरूको समेत उक्त समारोहमा सहभागिता रहेको थियो ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिव २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ, जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । अधिकांश विद्यार्थी विपन्न र अनाथ छन् जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

भारत सरकारको २ करोड ८२ लाख ५० हजार अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ संरचनामा ११ वटा कक्षाकोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डारकक्ष तथा दुई कर्मचारीकक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्देश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको जानकारी दिइएको छ ।

नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षासहित शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी भएको दूतावासले जनाएको छ ।