दिल्लीमा राजनाथलाई भेटेपछि रामचन्द्र उत्साहित !

दिल्लीमा राजनाथलाई भेटेपछि रामचन्द्र उत्साहित !


भारतीय जनता पार्टीका नेता एवम् रक्षामन्त्री राजनाथ सिंहसँग फोटो खिच्न नयाँदिल्ली पुग्नुभएका काङ्ग्रेस नेता रामचन्द्र पौडेल आफ्नो इच्छा पूरा भएकोमा गद्गद् हुँदै बोहोराटार फर्कनुभएको छ । भाजपाभित्र बलियो पकड नभए पनि प्रभावकारी मानिएका नेता राजनाथ सिंहसँग फोटो खिचिसकेपछि पौडेलले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोभलसँग बसेर कुराकानी गर्ने र तस्बिर खिचाउने इच्छा भएको जानकारी गराउँदै भेटाइदिन अनुरोध गर्नुभएको थियो । पौडेलको आग्रहमा राजनाथले प्रयास गर्छु भन्दै आश्वासन दिनुभएको थियो । तर, मोदी र डोभल कसैले पनि पौडेलसँग फोटो खिच्ने समय निकाल्न सक्नुभएन ।
शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार बन्ने सङ्केतहरू देखिएपछि रामचन्द्र पौडेल आफ्नो पक्षमा वातावरण बनाउन सक्रिय हुनुभएको छ । तेह्रौँ महाधिवेशनमा कोइरालाहरूमध्ये सभापतिको उम्मेदवार बन्ने स्थितिमा कोही नरहेको हुनाले मात्र आफूले देउवाविरुद्ध उम्मेदवारी दिने मौका पाएको यथार्थलाई पौडेलले आत्मसात् गर्न सक्नुभएको छैन । त्यसैले चौधौँ महाधिवेशनमा पनि आफैँ उम्मेदवार बन्न पाउने सपना पौडेलले देख्नुभएको छ ।

उहाँ नयाँदिल्ली जानुको मुख्य उद्देश्य पनि आफ्नो पक्षमा समर्थन जुटाउनुभएको बुझिएको छ । जब कि राजनाथ सिंहसँग तस्बिर खिचाउने मौका पनि पौडेलले सानो प्रयासबाट पाउनुभएको होइन । युरोपियन युनियन र इसाईसम्बद्ध सङ्घसंस्थाहरूसँग कसिलो सम्बन्ध कायम गर्दै आउनुभएका पौडेल नेपालमा धर्मनिरपेक्षताका सीमित ‘ठेकेदार’हरूमध्ये पर्नुहुन्छ । काङ्ग्रेसमा रामचन्द्र पौडेल, आरजु राणा, विमलेन्द्र निधि र गगन थापालाई धर्मनिरपेक्षताको कट्टर हिमायतीका रूपमा लिइन्छ ।

आरएसएस र भाजपासँग सम्पर्क बनाउन पौडेल गत वर्षदेखि नै कसरतरत हुनुहुन्थ्यो । प्रदीप गिरीले बिहारका नीतीश कुमारसँग कुराकानी गरी उहाँमार्फत राजनाथ सिंहसँग रामचन्द्रको भेट गराएको बुझिएको छ । तर, यो भेटले रामचन्द्रको राजनीतिक भविष्यलाई परिणामदायी प्रभाव नपार्ने देखिएको छ । भावी सभापतिका निम्ति डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालालाई बलिया उम्मेदवारका रूपमा लिइन्छ । डा. शेखर काङ्ग्रेसमा कोइराला पक्षका सबभन्दा लोकप्रिय मानिनुहुन्छ ।

गत महाधिवेशनमा पनि सबैभन्दा बढी मत हासिल गर्ने नेता डा. शेखर हुनुहुन्थ्यो । शेखरलाई सभापतिको उम्मेदवार बन्नबाट रोक्न रामचन्द्र मात्र नभई शेरबहादुर देउवासमेत लागिपर्ने देखिएको छ । शेखर उम्मेदवार बनेको अवस्थामा आफू विजयी बन्न मुस्किल पर्ने भएकोले उहाँलाई रोक्न देउवा र पौडेल दुवै एक हुने सम्भावना छ । कोइराला पक्षबाट रामचन्द्र नै उम्मेदवार बन्नुभयो भने अर्को एउटा कार्यकालका निम्ति पनि देउवा नै सभापति चुनिने स्थिति काङ्ग्रेसमा रहेको छ । तथापि, राजनाथसँगको भेटपछि रामचन्द्र पौडेल निकै हौसिनुभएको महसूस निकटवर्तीहरूले गरेका छन् ।