‘राजकुमार ह्यारी’को क्यानडामा नयाँ जीवनको शुरूआत

‘राजकुमार ह्यारी’को क्यानडामा नयाँ जीवनको शुरूआत


बेलायती राजकुमार ह्यारी मङ्गलबार (२१ जनवरी) क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेकी थिइन् ।

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन बिताउने बताइएको छ । मेगन छोरा आर्चीसँगै यसअघि नै क्यानडामा रहँदै आएकी थिइन् । उनीहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ ।

आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उनको भनाइ थियो ।

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भनेका छन्, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।’ द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरूको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको छ जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती पारिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।