अब शौच गर्दा संगीतको आनन्द !

अब शौच गर्दा संगीतको आनन्द !


तपाईं नेपालगञ्जवासी या यहाँ घुम्न आएको पाहुना हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आएको डिजिटल शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको छ । अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्नेछन् ।

पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए÷नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ । शौचालयभित्र शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्छ । जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न पाउनेछन् । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित छ ।

शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्छ । जहाँ हात धुन सकिन्छ । नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय निर्माण गरिएको छ । जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाउने व्यवस्था छ ।

एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा जोड दिनुभएको छ ।

उहाँले शौचालयलाई सफा राख्नु आफैँमा चुनौतीपूर्ण कार्य भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनीयर प्रकाश डिसीका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत रु ४६ लाख ३६ हजारको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चार बाहिनीचोक र मासुमण्डी नजिक रु ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । योसँगै नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन् । त्यसमा पछिल्लोपटक बनेका शौचालय अत्याधुनिक छन् ।

बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाब लाग्दा समस्या हुने गरेको भन्दै गुनासो बढिरहेका बेला नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन् । शौचालय सञ्चालनमा आएसँगै यसलाई उपमहानगरपालिकाले आफैँ सञ्चालन गर्ने वा ठेक्कामा दिने भन्नेबारे निर्णय भइनसकेको वातावरण इञ्जिनीयर डिसीले बताउनुभयो । यसअघि उपमहानगरपालिकाले तीनवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।
rss