रेल विभागले आगामी फागुनसम्ममा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने जानकारी दिएको छ । रेल सञ्चालनका लागि भारतबाट ल्याउन लागिएको दुई सेट रेल डेढ सतामा त्यहाँबाट हिँड्ने र भारतबाट हिँडेको लगभग १० दिनमा नेपाल आइपुग्ने सोमबार (६ माघ) विभागले जनाएको छ ।
रेलका डिब्बा आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको जानकारी दिँदै उनले फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको बताए ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको थियो । सो रेल सेट आइपुगेको केही समयपछि नै सञ्चालन गर्न सकिने विभाग बताउँछ । दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि मात्र अर्काे आइपुग्ने पनि बताइएको छ ।
रेलका दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहने र यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको मिश्रको भनाई छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने बताइएको छ ।
प्रतिक्रिया