संसदीय दलका नेताको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

संसदीय दलका नेताको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


प्रदेश नं ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनमा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार एक शोक विज्ञप्ति जारी गरी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ खैरियाका ८२ वर्षीय पोखरेलको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

विसं १९९४ माघमा प्यूठानमा जन्मनुभएका पोखरेलको सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय पोखरेल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २०१३ मा नेपाल छात्र सङ्घबाट जयन्तु संस्कृतम नारासहित राजनीति प्रारम्भ गर्नुभएका स्वर्गीय पोखरेल पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य तथा विसं २०२६ देखि २०३७ सम्म पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको सचिवसमेत रहनुभएको थियो ।

नेपालमा प्रजातन्त्र स्थापनामा जेल जीवनसमेत व्यतित गर्नुभएका पोखरेल विसं २०७४ को आम निर्वाचनमा प्रदेश नं ५ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशको सभामुखको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।

पोखरेलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा नेता पोखरेलको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गरिएको छ । सभापति देउवाले स्वर्गीय पोखरेलले नेपाली कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको जनाउनुभएको छ ।

नेता पोखरेलको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पनि आफू स्तब्ध हुन पुगेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले जारी गर्नुभएको शोक विज्ञप्तिमा स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा क्रियाशील पोखरेलको निधनले प्रदेशसभाले अनुभवी प्रदेशसभा सदस्य र दलको नेता गुमाएको मुख्यमन्त्रीले शोक विज्ञप्तिमा जनाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दल उहाँको अनुपस्थितिमा मुख्यमन्त्री पोखरेलले स्थापित गरेको सहकार्यको संस्कृतिलाई निरन्तरता दिन सफल हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।