सभामुखको चुनाव माघ १२ मा, मनोनयन भोलि नै

सभामुखको चुनाव माघ १२ मा, मनोनयन भोलि नै


नयाँ सभामुख चयनका लागि माघ १२ गते आइतबार प्रतिनिधिसभामा चुनाव हुने भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सोमबारको बैठकमा सभामुख पदको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएलगत्तै संसद सचिवालयले माघ १२ गतेका लागि सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

सभामुखको उम्मेदवारी दर्ताका लागि भने भोलि मंगलबार ७ बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ । सभामुखका लागि परेका उम्मेदवारीको सूची भोलि मंगलबार दिउँसो २ः३० बजे सार्वजनिक गरिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

नेकपाले सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले भने अहिलेसम्म सभामुखमा उम्मेदवारी दिन कि नदिने निर्णय गरिसकेको छैन । सभामुखको चयनपछि मात्र उपसभामुखको चयन हुनेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारीलाई उनकै कोठामा पुगेर जबर्जस्ती करणी आरोप लागेपछि असोज १४ गते पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहँदै आएको थियो ।

संसद सचिवालयले सार्वजनिक गरेको सभामुखको चुनावी कार्यतालिका