नेप्सेमा साढे २६ अंकको गिरावट, कारोबार भने दुई अर्ब

नेप्सेमा साढे २६ अंकको गिरावट, कारोबार भने दुई अर्ब


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने झन्डै साढे २६ अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ बिन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम झन्डै रु. दुई अर्बबराबर छ । कुल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर रु. एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटेल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बिमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बिमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्यबराबरको सेयर कारोबार भई शीर्षस्थानमा रह्यो । एनसीसी बैंक रु. १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु. नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु. ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआईसी एसिया बैंक रु. पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु. पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु. पाँच करोड ४४ लाख ९५ हजारबराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लोबल आईएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका सेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।