अष्ट्रेलियाको डेमोक्रेटिक फोरम (एनएडिएफ) को नयाँ कार्यसमिति गठन

अष्ट्रेलियाको डेमोक्रेटिक फोरम (एनएडिएफ) को नयाँ कार्यसमिति गठन


■ राजन घिमिरे, सिड्नी

नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को सिड्नीमा दशौँ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी हुन नेपालबाट आउनुभएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले विदेशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकताको सवालमा नेपाली कांग्रेसमा डटेर लाग्ने बताए भने अर्का नेता तथा पूर्वमन्त्री एनपी साउदले प्रवासमा रहनुभएका नेपालीहरूले नेपालको राजनीतिकर्मीहरूलाई प्रवासबाट सजग गराउनुपर्नेमा जोड दिनुभयो । ‘तपाईंको सिप र ज्ञानको प्रतीक्षामा नेपाल छ’– नेता साउदको भनाई थियो ।

यस्तै, वरिष्ठ पत्रकार हरिहर विरहीले नेपाली प्रेसले फेरि स्वतन्त्रताको अर्को लडाइ लड्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । मूलुकमा सरकारको तर्फबाट प्रेसलाई बन्धक बनाउने खेल हुन थालेकोले यसमा प्रवासबाट पनि आवाज उठाउनु पर्ने समय आएको उहाँको धारणा थियो । पत्रकार कविर राणाले प्रजातन्त्रविना प्रेस स्वतन्त्रता सम्भव नभएको तर्क गर्नुभयो भने अस्ट्रेलियास्थित नेपाली दूतावासकी प्रथम सचिव द्रुपदा सापकोटाले विदेशमा रहेका संघ–संस्था नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने कडीको रुपमा रहेको बताउनुभयो ।

साधारणसभामा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, अभियन्ता इन्द्रा वनले नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना प्रदान गर्नुभएको थियो । नेपाल विद्यार्थी संघका पुर्वकेन्द्रीय सदस्य सरोज थापा, नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, महिला संघकी मन्जु खाणलगायतले पनि शुभकामना दिँदै प्रवासमा रहनुहुने नेपालीहरू बीचको एकतामाथि जोड दिनुभयो । एनएडीएफका महासचिज माधव गैरेले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष पुर्णनाथ घिमिरेले संस्थाको कार्य विवरण प्रस्तुत गर्नुभएको र विवेक थापाले संस्थाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

दशौँ साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्र सापकोटालाई चयन गरेको छ भने उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा भीष्म भण्डारी, सचिवमा सत्यप्रकाश कँडेल, कोषाध्यक्षमा प्रज्वल भट्टराई, समाजिक एवं सांस्कृतिक संयोजकमा अन्जना बस्नेत, पब्लिक अफिसरमा हरिकृष्ण अधिकारी, युवा संयोजकमा मनोज आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिकातर्फबाट संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नारायण खड्का तथा विशेष अतिथि एनपी साउद र अन्य अतिथिहरूलाई एनएडिएफका निवर्तमान अध्यक्ष विवेक थापाले मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन समितिका प्रमुख सुरेन्द्र सिग्देल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, बालचन्द्र भट्टराई, डिल्ली ढकाल र महेन्द्र लम्साल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।