बेल्जियमका राजकुमारी नेपालमा, भ्रमण वर्षलाई सहयोग पुग्ने

बेल्जियमका राजकुमारी नेपालमा, भ्रमण वर्षलाई सहयोग पुग्ने


■ प्रकाश सिलवाल, काठमाडौं

एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँको सम्मानमा आइतबार (५ माघ) आयोजना गर्नुभएको स्वागत समारोहका क्रममा भएको भेटवार्तामा राजकुमारी अस्ट्रिडले आफू नेपालमा क्षयरोग र कुष्ठरोग न्यूनीकरण अभियानमा भएका प्रगति हेर्न आएको उल्लेख गर्दै भ्रमण वर्ष सफलताको शुभकामनासमेत दिनुभएको हो ।

राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुनुहुन्छ । नेपालले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रुपमा स्थापित गर्न यही जनवरी १ देखि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन शुरु गरेको छ । नेपाल आउनुहुँदा उहाँलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले लामो समयपछि बेल्जियमबाट उच्चस्तरको भ्रमण भएकाले भ्रमणले युरोपेली र अन्य मुलुकबाट नेपालमा पर्यटक वृद्धि हुन टेवा पुग्ने बताउनुभयो । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र राजकुमारी अस्ट्रिडबीच भएको भेटमा क्षयरोग र कुष्ठरोग नियन्त्रणका विषयमा छलफल भएको थियो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललगायत सहभागी हुनुहुन्थ्यो ।

दुई देशबीचका आपसी सम्बन्ध र सहकार्यका क्षेत्रको विस्तारबारेसमेत छलफल भएको सहसचिव काफ्लेले जानकारी दिनुभयो । भेटवार्तापछि आयोजित स्वागत समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई र उच्चअधिकारीले राजकुमारी अस्ट्रिडलाई स्वागत गर्नुभएको थियो ।

भ्रमणका अवसरमा राजकुमारी अस्ट्रिडले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि अलगअलग भेटवार्ता गर्नुहुनेछ । राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्नुहुने परराष्ट्र मन्त्राललयले जनाएको छ । उहाँले त्यहाँस्थित कुष्ठरोगी र क्षयरोगीबाट प्रभावितहरुलाई समेत भेट्नुुहुनेछ भने उहाँले नवलपरासीस्थित प्रदेश स्रोत केन्द्र रहेको मिडपोइन्ट अस्पतालको पनि भ्रमण गर्नुहुनेछ । ती केन्द्र र सेवाहरुमा बेल्जियमस्थित गैह्रसरकारी संस्था ‘दामियन फाउण्डेशन’ को सहयोग हुँदै आएको छ । राजकुमारी अस्ट्रिड ‘ओटाबा कन्भेन्सन’अन्तर्गत बारुदी सुरुङविरुद्धको अभियानका लागि विदेश दूत पनि हुनुहुन्छ ।

सन् १९६३ अगष्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको नेपाल र बेल्जियमबीच आपसी सद्भाव, विश्वास र परस्पर सम्मानको सम्बन्ध रहँदै आएको छ । बेल्जियमका तत्कालीन राजा अल्बर्ट द्वितीय र वर्तमान राजा फिलिपी युवराज हुँदा उहाँहरुले सन् १९९८ मा नेपालको निजी भ्रमण गर्नुभएको थियो । सन् २००५ मा बेल्जियमका विदेशमन्त्री कारेल डि गुक्टले नेपालको भ्रमण गर्नुभएको थियो ।

नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २००२ मा बेल्जियमको भ्रमण गरी त्यहाँका समकक्षीसँग भेटवार्ता गर्नुभएको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१४ मा ब्रसेल्सको भ्रमण गर्नुभएको थियो । तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री)ले सन् २००७ र तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले सन् १९९६ मा बेल्जियमको भ्रमण गर्नुभएको थियो ।

बेल्जियमले नेपालमा विभिन्न दूरसञ्चार र डिजिटल परियोजनामा सहयोग गर्दै आएको छ । नेपालले विकास सहायता दिने मुलुकको सूचीमा आफूलाई सहभागी गराउन बेल्जियललाई आग्रह गर्दै आएको छ । दुई देशबीच कार्पेट, ऊलन, तयारी पोशाक, हस्तकला र कागज आदि सामान बेल्जियममा निर्यात गर्दै आएको छ । नेपालको रेडक्रस र बेल्जियमको रेडक्रसबीच पनि नजिकको सहकार्य हुँदै आएको छ ।


pict: rss