समाजसेवामा पुरुषभन्दा कम छैनन् प्रवासका नेपाली महिला

समाजसेवामा पुरुषभन्दा कम छैनन् प्रवासका नेपाली महिला


  • भगवान गिरी, पोर्चुगल

काठमाडौंकी सुशीला थापा विगत १० बर्षदेखि पोर्चुगलमा हुनुहुन्छ । उहाँ रोजगारीको सिलसिलामा नेपाली भुमि छाडेर विदेशीनुभएको हो । विदेश बसाईको क्रममा नेपालीले भोगेको समस्याप्रति थापा जानकार पनि हुनुहुन्छ । नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको समस्या समाधान गर्न थापाले आफ्नो तर्फबाट सक्दो काम पनि गर्नुभएको छ । प्रवासमा रहेर पनि थापाले विभिन्न संघ संस्थामा सक्रिय रहेर काम गर्दै आउनुभएको छ । ‘प्रवासमा समस्यामा परेका नेपालीलाई सकेको सहयोग गर्न पाउँदा निकै खुसी छु’, थापा भन्नुहुन्छ, ‘समाजसेवामा सबैको साथ र सहयोग जरुरी छ ।’

पोर्चुगलमा रहेर प्रवासी नेपाली एकता मञ्च, नेपाली नारी समाज, गैह्र आवासिय नेपाली संघ, नेपाली महिला समाज लगायतका धेरै संघ संस्थामा काम गर्नुभएकी थापाले निस्वार्थ समाजमा काम गर्दा समाजले हेर्ने दृष्टिकोण भने फरक रहेको बताउनुहुन्छ । ‘म प्रवासमा रहेर पनि सकेको सहयोग गरेको छु ।’ उहाँले भन्नुभयो, ‘महिलाले गरेको समाजसेवा पुरुषको नजरमा अलि कमजोर चाँही हुने रहेछ । तैपनि म आफ्नो कामप्रति दृढ छु ।’ अस्थायी र स्थायी बसोबासका लागि धेरै नेपाली महिलाहरु विभिन्न देशबाट पोर्चुगल आउने गर्दछन् । भाषा, सिप र क्षमता अभावकै कारण धेरै नेपालीहरु समस्यामा पर्ने गरेको थापाको बुझाई छ । ‘महिला होस् या पुरुष समस्यामा परेका सबै नेपालीलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।’ उहाँले भन्नुभयो, ‘पुरुषकै कारण नेतृत्व तहमा नपुगे पनि उनिहरु सरह समाजसेवामा भने तल्लिन छौं ।’

अहिले पोर्चुगलमा सुशीला मात्रै होइन अन्य महिलाहरु पनि आफ्नो कामसँगै समाजसेवामा सक्रिय छन् । विगत २ बर्षदेखि पोर्चुगलमा रहेकी सीता श्रेष्ठ पनि नेपाली दाजुभाई तथा दिदी बहिनीको समस्यामा साथ दिदैं आउनुभएको छ । गैह्रआवासिय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्ष एवं नारी समाजमा रहेर काम गर्नुभएकी श्रेष्ठ समाजसेवा गर्दा अपजस बढि आउने गरेको अनुभव सुनाउनुहुन्छ । दुब्र्यसनीमा परेका पुरुष तथा महिलाको उद्धार, सडकमा पुगेका नेपालीको उद्धार, रोजगारमा लगाइदिने जस्ता कामहरु गर्दै आएको उहाँको भनाई छ । प्रवासमा सबैभन्दा धेरै महिलाको समस्या रहेको श्रेष्ठ बताउनुहुन्छ । ‘नेपालमा जस्तै प्रवासमा पनि महिलाहरु शारीरीक, मानसिक र आर्थिक समस्याबाट पिडित भएका छन् ।’ उहाँले भन्नुभयो, ‘पुरुषप्रधान समाजमा हुर्केका हामी नेपालीको सोचाईमा परिवर्तन आउन आवश्यक छ ।’ श्रेष्ठको नजरमा प्रवासमा जति समाजसेवा गरेपनि नेपाली समाजले महिलाको कामप्रति सधैं प्र्रश्न गर्ने गरेको छ । ‘दैनिकजसो महिलाका केही न केही समस्या आइनैरहन्छन् । दुबै पक्षलाई राखेर समस्याको समाधान पनि गर्ने गरेका छौं ।’ उहाँले थप्नुभयो, ‘पुरुषले पेलेको हाम्रो नेपाली समाजले महिलाका सह्र्रानिय कामप्रति जस भने कहिल्यै दिदैंन् ।’

यस्तै, हाल पोर्चुगलमै रहनुभएकी दोलखाकी निमल्हमु शेर्पाको भनाई पनि उस्तै छ । नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलकी उपाध्यक्ष समेत रहनुभएकी उहाँले दुःखमा परेका प्रवासी नेपालीलाई सहयोग गर्न पाउँदा सन्तुष्टी मिलेको बताउनुहुन्छ । ‘मलाई समाजसेवाका लागि पारिवारिक साथ र सहयोग पनि छ, त्यसैले नेपाली समुदायका लागि समाजसेवा गर्न तयार छु ।’ उहाँले भन्नुभयो, ‘प्रवासमा आएर पनि हाम्रो सोचाइ र अरुले गरेको कामको सम्मान हामी सबैले गर्न जरुरी छ ।’