ह्यारीदम्पतीको शाही उपाधि परित्याग घोषणा बकिङघम प्यालेसद्वारा अनुमोदन

ह्यारीदम्पतीको शाही उपाधि परित्याग घोषणा बकिङघम प्यालेसद्वारा अनुमोदन


बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णयलाई बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले औपचारिकता दिएको हो । ह्यारीदम्पतीले केही दिनअघि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए ।

शाही दरबारमा शनिबार बसेको बैठकले चरणचरणका छलफल र प्रयासलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको हो । शाही दरबारको यो निर्णयसँगै उनीहरूको शाही उपाधि अन्त्य हुने सुनिश्चित भएको छ । तर, उनीहरूलाई आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाका नाति ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ । ‘महिनौँदेखिको कुराकानी, पछिल्ला धेरै छलफलपछि रचनात्मक र सहयोगात्मक कामहरू गर्ने मेरो नाति र परिवारको निर्णयबाट म प्रसन्न छु,’ ९३ वर्षीया महारानीले वक्तव्यमा लेखेकी छिन् । उनले भनेकी छिन्, ‘ह्यारी, मेगन र उनीहरूका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपऱ्यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।’

दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । दरबारको यो निर्णयसँगै उनीहरूले अब राजपरिवारका औपचारिक सदस्य नरहने भएको वक्तव्यमा जनाइएको छ ।

ह्यारीदम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्बन्धपछि उनीहरूले २०१८ मा विवाह गरेका थिए । राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्ष पुगेका छन् भने उनकी श्रीमती मेगन ३८ वर्ष पुगेकी छिन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैटौँ उत्तराधिकारी थिए ।
रासस–एएफपी