गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी, प्रहरीद्वारा मुद्दा दर्ता

गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी, प्रहरीद्वारा मुद्दा दर्ता


गायिका आस्था राउतविरुद्ध प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ । प्रहरीले राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको हो । मुद्दा दर्तालगत्तै प्रहरीले राउतलाई पक्राउ गर्ने तयारी गरेको छ ।

त्रिभुवन विमानस्थलबाट भद्रपुर जाने क्रममा सुरक्षा चेकजाँच गर्ने महिला प्रहरीसँग आस्थाको विवाद परेको थियो । राउतले चेकजाँचको क्रममा भएको विवाद फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेपछि सो विवाद सार्वजनिक भएको थियोे । त्यसपछि विमानस्थलको सुरक्षा जाँचको भिडियोसमेत सार्वजनिक भएको थियो ।

गायिका राउत भने कार्यक्रमका लागि अहिले भारतको सिक्किम पुगेकी छिन् । उनी आजै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले बिहीबार गायिका राउतले सुरक्षा जाँचका क्रममा आफूमाथि अभद्र्र व्यवहार गरेको भन्दै शुक्रबार विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ । अनुसन्धानमा यदि दोषी ठहर भए एक वर्ष जेल सजाय र १० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।