‘अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी’

‘अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी’


अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार (१८ जनवरी) बताएको छ ।

तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेको अफगानी विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।

प्रवक्ता सुहाइल शाहिनलाई उद्धृत गरी पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ले लेखेको छ,– ‘तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच यसै हप्ता कतारको राजधानी दोहामा वार्ता भएको छ र सम्झौताका लागि सैन्य गतिविधि घटाउँदै लाने सहमति भएको छ ।’ तालिवानी विद्रोहीले यसअघि उनीहरूले केही समय (छोटो) युद्धविराम गर्न लागेको एएफपीलाई बताएको थियो ।

तालिवान समूह वाशिङ्टनसँग सम्झौता गर्ने बिषयमा निकै आशावादी रहेको छ प्रवक्ता सुहाइलले बताएका छन् । सहमतिमा अफगानी सेनाले विद्रोहीविरूद्धको कारबाहीलाई देशभर घटाउँदै लाने पनि उल्लेख छ । यो बिषय अब केही दिनको हो, प्रवक्ताले भनेका छन् ।

वाशिङ्टनले केही हप्ता हिंसात्मक गतिविधि कम गरी तालिवान समूहले शान्तिको वातावरणलाई प्रत्याभूत गर्न आग्रह गरेको छ । तालिवान समूहले शान्तिको वातावरण प्रत्याभूत गरेपछि दुई दशकसम्म अफगानिस्तानको सरकारी सेनालाई सहयोग गर्दै आएको अमेरिकाले आफ्नो सेनालाई फिर्ता लान सुरू गर्नेछ ।

तालिवान र अमेरिकाले करिब एक वर्षपछिको वार्तापछि सन् २०१९ को सेप्टेम्बरमा सम्झौताको नजिक पुगेको घोषणा गरेको थियो तर राजधानी काबुलमा तालिवानी समूहको आक्रमणमा अमेरिकी अधिकारीको मृत्युपछि अमेरिकी राष्ट्रपतिले एकाएक सहमतिको प्रक्रिया ‘अन्त्य’ भएको घोषणा गरेका थिए ।

अमेरिका र तालिवानी प्रतिनिधिबीच डिसेम्बरपछि कतारमा पुनः वार्ता सुरू भएको थियो तर अफगानिस्तानको बाग्राम सैन्य शिविरमा तालिवानी समूहले आक्रमण गरेपछि फेरि केही समय वार्ता अवरूद्ध भएको थियो । बाग्राम सैन्य शिविरलाई अमेरिकाले सञ्चालन गर्दै आएको छ ।

अमेरिकासँगको सम्झौतापछि तालिवान समूह र अफगानी सरकारबीच वार्ताका लागि बाटो खुल्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमति जनाइसक्नुभएको छ भने तालिवानले पनि विदेशी जिहादी समूहलाई अफगानिस्तानमा आश्रय नदिने बिषयमा सहमति जनाएको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो प्रवेश अल–कायदासँगको तालिवानी सम्बन्ध भएको बताएको छ ।