वलिउड अभिनेतृ शबाना आजमी कार दुर्घटनामा गम्भीर घाइते

वलिउड अभिनेतृ शबाना आजमी कार दुर्घटनामा गम्भीर घाइते


विख्यात बलिउड अभिनेतृ शबाना आजमी कार दुर्घटनामा परेकी छिन् । शनिबार अपरान्ह महाराष्ट्र (भारत)को रायगढस्थित मुम्बई–पुणे एक्सप्रेस–वेमा आजमी सवार कार रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना निम्तिएको थियो ।

कारमा शबानाका श्रीमान् जाबेद अख्तर पनि सवार थिए, तर उनलाई भने खासै चोट नलागेको बताइएको छ । कारचालक पनि सामान्य घाइते मात्र भएका छन्, तर शबानालाई भने गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनको अनुहार र हातमा खास चोट लागेको छ भने नाकबाट रगत बगेको समाचारमा जनाइएको छ । दुर्घटनाग्रस्त कारको अवस्था हेर्दा निकै स्पिडमा गुडिरहेको अवस्थामा रोकिराखेको ट्रकमा ठोक्किएको अनुमान गरिएको छ ।

शबाना र उनका श्रीमान जाबेद अख्तर बान्द्रास्थित घरमा जाबेदको ७५औँ जन्मदिवस मनाएर खण्डालामा रहेको घरतर्फ फर्कंदै गर्दा उक्त सडक दुर्घटना भएको हो । जाबेद भारतका प्रख्यात गीतकार हुन् ।

विशेषतः यथार्थतामा आधारित सिनेमा (आर्ट मूभी)मा शबाना आजमीको ठूलो नाम छ । शबानाअभिनित अंकुर, अर्थ, मण्डी, शतरंज के खिलाडी, अमर अकबर एन्थोनी, कर्म, देवता, किस्सा कुर्सी का, मन डोला, जुनून, फायर, उमराव जान, अलबर्ट पिन्टो को गुस्सा क्यों आता है, नीरजालगायत बलिउडका कालजयी फिल्म हुन् ।