यसै वर्ष सुदूरपश्चिममा चौथोपटक हिमपात

यसै वर्ष सुदूरपश्चिममा चौथोपटक हिमपात


बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा चौथोपटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका–१ का स्थानीयवासी हरी नेपालीले बताए ।

उनले भने, ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।’ हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले चौथोपटक हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । राससले जनाएअनुसार पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सतर्कता अपनाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।