माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने दाबी

माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने दाबी


१५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले प्रारम्भिक प्रक्रिया शुरु गरेको छ । चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गर्नुभएको नेपालको दुई दिवसीय राजकीय भ्रमणको क्रममा भएको सहमतिका आधारका सरकारले आयोजनाको काम शुरु गरेको हो ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएको थियो । सोही समझदारीका आधारमा थप कामका लागि रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले बिहीबार (२ माघ) आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको स्थापना गरेसँगै आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु भएको हो । सो आयोजना प्रदेश नं ५ को ठूला मध्येको एक आयोजना हो ।

माडी आयोजनामा चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानी हुनेछ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने दाबी गरे ।

उनले भने– ‘राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । ती मध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ ।’ आयोजना समयमै निर्माण सम्पन्न हुने दाबी समेत उनले गरे ।

यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्ने भन्दै उनले माडी आयोजनाको विस्तृत अध्ययन १८ महिनामा सकिने र निर्माण प्रक्रियामा जाने बताए । मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको उल्लेख गर्दै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइँसमेत हुने जानकारी दिए ।

राससले जनाएअनुसार कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताउँदै पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको र यो आयोजना समयमै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।

एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए भने आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।