मन्त्रीहरूको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ

मन्त्रीहरूको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ


प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरूको तस्बिरअंकित ब्यानरमा जुत्ता–चप्पल प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विमलेश चौधरी, शंकर साह, रोशनसिंह राजपुत र रोशन ठाकुर रहेका छन् । उनीहरूलाई जनकपुरको जिरोमाइलबाट मन्त्रीहरूको तस्बिरमा जुत्ता प्रहा् गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

आफूहरूले गरेको विकास निर्माणको कामबापतको भुक्तानी नपाएको भन्दै उनीहरूले विरोधको नयाँ शैली अपनाएका थिए । उनीहरूले चोकमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको तस्बिरसहितको ब्यानर टाँगेर तथानाम गाली गर्दै जुत्ता प्रहार गरेका थिए ।

आर्थिक वर्षको अन्त्यमा योजनाका काम लिएका अधिकांश समितिमा राजनीतिक दलका कार्यकर्ता रहेका छन् । पक्राउ परेका राजपुत राजपा युवा संघका अध्यक्ष हुन् । भुक्तानीकै विषयलाई लिएर प्रदेश सभा बैठक पनि अवरुद्ध बनेको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।