सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङलाई प्रज्ञा-प्रतिष्ठानमा स्वागत

सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङलाई प्रज्ञा-प्रतिष्ठानमा स्वागत


भारतको सिक्किमका पूर्वमुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्वमुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहारस्वरूप अर्पण गरिएको थियो ।

साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

उपकुलपति डा. गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा–सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।’

आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– ‘म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।’

विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको उहाँले प्रस्ट्याउनुभयो । चामलिङले भन्नुभयो– ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक छ । नेपाली जाति जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो र यो पहिचानलाई हाम्रो भाषा, साहित्य र संस्कृतिमात्रै बचाउँछ ।’

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्रष्टा चामलिङको कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले चामलिङ साहित्यसँगसँगै राजनीतिमा पनि उत्तिकै सफल रहेको उल्लेख गर्नुभयो । ‘२५ वर्षसम्म मुख्यमन्त्री भएर उहाँले पश्चिम बंगालका ज्योति वसुपछि भारतमा सबैभन्दा धेरै समय मुख्यमन्त्री बन्ने रेकर्ड कायम गर्नुभएको छ र नेपाली भाषा–साहित्यको समृद्धिका लागि पनि निर्माण प्रकाशनका माध्यमबाट उत्तिकै उल्लेखनीय काम गर्नुभएको छ ।’ उहाँले भूगोलले छुट्याए पनि भाषा, साहित्य र संस्कृतिले नेपाल र सिक्किमलाई भावनात्मक सम्बन्धले जोडेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, वाङ्मय शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।