२६ अंकको सुधारले नेप्से १३ सयमाथि

२६ अंकको सुधारले नेप्से १३ सयमाथि


धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले बिहीबार अर्को नयाँ बिन्दु समातेको छ । बजार एक हजार तीन सयको बिन्दुमाथि पुगेको छ ।

लगानीकर्तामा एकप्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अंकको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अंकको वृद्धि भएको छ । कुल ५० लाख २५ हजार ५६३ कित्ता सेयर रु. एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ ।

यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बिमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कुल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै सेयर घटेको छ । सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.३८, व्यापार २८.५९, होटेल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत ७.९७, वित्त २६.५५, निर्जीवन बिमा १२५.७१, उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बिमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्ट रु. १३ करोड ५९ लाख ६० हजार २०२, एनआईसी एशिया बैंक रु. छ करोड ८३ लाख १६ हजार ८१६, प्रभु बैंक रु. चार करोड ८६ लाख ५७ हजार ८०७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु. चार करोड ७८ लाख १८ हजार ५५, नेपाल बैंक रु. चार करोड २६ लाख ७० हजार ४९४, कुमारी बैंक रु. चार करोड दुई लाख २७ हजार ४३६ र प्राइम बैंक रु. तीन करोड ८६ लाख ५५ हजार ६४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नबिल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेसनल माइक्रोफाइनान्स ९.९४, आशा लघुवित्त वित्तीय संस्था ९.९३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.९२ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २.६८, अरुण काबेली पावर २.१५, नेसनल हाइड्रोपावर १.८५, सानिमा बैंकको ऋणपत्र १.८३, लक्ष्मी इक्विटी फण्ड १.८१, गुर्खाज फाइनान्सका सेयरधनीले १.६१ प्रतिशतले गुमाए ।
rss