‘साँस्कृतिक पर्वको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध’ : मुख्यमन्त्री राउत

‘साँस्कृतिक पर्वको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध’ : मुख्यमन्त्री राउत


■ हेमशंकर सिंह, राजविराज

सप्तरीका थारु समुदायले छुट्टाछुट्टै स्थानमा साँस्कृतिक पहिचान झल्कने कार्यक्रम र महोत्सवको आयोजना गरी माघे संक्रान्ती (माघी) पर्व मनाएका छन् । थारु कल्याणकारी सभा सप्तरीको क्षेत्र नम्बर ३ कमिटीले शम्भुनाथ नगरपालिका ९ बसवलपुरमा आयोजना गरेको माघी महोत्सवको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले माघी पर्वले राष्ट्रिय एकतामा थप बल पुगेको बताए । देशको गहनाको रुपमा रहेको साँस्कृतिक पर्वहरुको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उनले बताए । देशको परिबर्तनमा थारु समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले पहिचानको मुद्वा स्थापित गर्न माघी महोत्सवले सहयोग पुऱ्याउने बिश्वास ब्यक्त गरे ।

थारु कल्याणकारी सभा क्षेत्र नम्बर ३ का सभापति सिम्रीकलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी, अशोककुमार चौधरी, राष्ट्रिय परिषद सदस्य कन्तलाल चौधरी, आदिवासी नेता पुर्णप्रसाद चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैगरी थारु कल्याणकारी सभा सप्तरीले थारु समुदायको पहिचानसंग जोडिएको माघी पर्व कञ्चनरुप नगरपालिकाको सुब्बाटोलमा हिजो बुधबार मनाएको छ ।

थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित माघी महोत्सवको उद्घाटन सप्तरीको संसदिय क्षेत्र नम्बर ३ का राजपाका सांसद चन्द्रकान्त चौधरीले गरे ।

कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै सांसद चौधरीले थारु लगायत आदिवासी जनजातिको पहिचानका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैगरी नेकपाकी संघीय सांसद सरिता गिरिले माघे संक्रान्तीको संरक्षणमा राज्यले ठोस योजना ल्याउन आबश्यक रहेकोमा जोड दिइन् ।

नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष राजकुमार लेखीले वर्तमान संघीय सरकारले आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धि खोस्न लागेकोे आरोप लगाए । विभिन्न आन्दोलनको बलमा प्राप्त उपलब्धी र बाँकी अधिकारप्राप्तिको लागि आन्दोलन गर्नुपर्नेमा समेत उनले जोड दिए । क्रार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रा, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, तिरुहुत गाउँ पालिकाका अध्यक्ष हेमन्त बहडखेर, अग्निसाइर कृष्णा सवरन गाउँपालिकाका उपाध्यक्ष मीना चौधरी, थारु आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य सावित्री चौधरी, दिलकुमारी चौधरी, रामवती चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले,थारु नेता डा. ललन चौधरी, प्राध्यापक महेश चौधरी, डा. कबीरदास चौधरी लगायतकाले शुभकामना व्यक्त गरे ।

यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिकाको वडा नम्बर ६ मा समेत माघी महोत्सवको आयोजाना गरिएको थियो । स्थानीय अम्बिका जोशीको अध्यक्षतामा आयोजित महोत्सवको थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य सावित्री चौधरी र अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष मीना चौधरीले संयुक्त रुपमा उद्घाटन गरेको आयोजकले जनाएको छ । महोत्सवमा थारु पहिचान झल्कने गित तथा नृत्य,थारु परिकार र थारुका एतिहासिक पुरातात्विक बस्तुहरुको स्टल राखी पर्दशन समेत गरिएको थियो ।