मिखाइल मिसुस्टिन रुसका नयाँ प्रधानमन्त्री

मिखाइल मिसुस्टिन रुसका नयाँ प्रधानमन्त्री


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । तत्कालीन प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा पुटिनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन् ।

पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।

‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाइलसँग बैठक गरेर उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गर्नुभएको छ,’ क्रेमलिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । पुटिनको आग्रहलाई मिखाइलले स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए । मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए ।

पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद सदस्यहरू छनोट गर्ने अधिकार समावेश गरिएको बताइएको छ । प्रधानमन्त्रीले भने, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’ प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनेछन् ।

प्रधानमन्त्री मेदभेदेवले राजीनामा दिएपछि राष्ट्रपति पुटिनले उनलाई धन्यवाद र आभार व्यक्त गरेका छन् । पुटिनले भने, ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईंले गरेका सबै कुराका लागि तपाईंलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी पनि छु ।’
रासस–सिन्ह्वा