पूर्वराजदूत शर्माको हृदयाघातका कारण बेलायतमा निधन

पूर्वराजदूत शर्माको हृदयाघातका कारण बेलायतमा निधन


बेलायतका लागि पूर्व नेपाली राजदूत मुरारीराज शर्माको निधन भएको छ। शर्माको ६८ वर्षको उमेरमा मंगलबार बिहान बेलायतमै निधन भएको हो।

करिव एक दशकदेखि बेलायत बसोबास गर्दै आएका शर्माको निधन हृदयाघातका कारण भएको बुझिएको छ । शर्मानिकट सुत्रले दिएको जानकारीअनुसार मंगलबार बिहान शर्मा आफ्नी श्रीमतीसँगै नियमित मर्निङवाक गरी घर फर्किएका थिए । त्यसपछि सामान्य तवरमै ब्रेकफाष्ट गरेर घरमै बसिरहेको बेला उनी अकस्मात बेहोस भएका थिए ।

आकस्मिक रुपमा स्वास्थ्यावस्था बिग्रिएपछि हस्पिटल लैजाने तयारी गरिँदै थियो, एकैछिनमा एम्बुलेन्स पनि आइपुग्यो, तर शर्माले प्राण छोडिसकेका थिए । लण्डनको टुटिङस्थित सेन्ट जर्ज अस्पतालमा शर्माको शव राखिएको र अमेरिकामा रहेका दुई छोराहरुको निर्णयअनुसार अन्त्यष्टि गरिने बताइएको छ ।

ज्ञातव्य छ, मुरारीराज शर्मा अधिकारीले सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म लन्डनस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेका थिए । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर समेत उनले काम गरेका थिए । कथाकार, कवि तथा लेखकका रुपमा समेत चिनिएका शर्माले कुटनीतिक सेवाको औपचारिक अन्त्यसँगै प्रवासमा जीवन बिताउने निर्णय गरेका थिए । त्यतिबेला उनको सो कदम आलोचित समेत बन्न पुगेको थियो ।