नेपाली सेनाले अब पनि टुलुटुलु हेरिरहने ?

नेपाली सेनाले अब पनि टुलुटुलु हेरिरहने ?


प्रधानसेनापतिज्यु,
नेपालका राजनीतिक दल तथा नेताहरूका कारण नेपाली नागरिकलाई बाँच्न गाह्रो हुन लाग्यो । दलका नेताहरूले आफ्नो स्वार्थपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायका शक्तिसाली देशका नेताहरूलाई जथाभावी गालीगलौज गरेको परिणामस्वरुप विभिन्न खालका दुःख–कष्ट झेल्नुपरेको र विदेशमा रहेका सर्वसाधारण नेपाली नागरिकहरूले समेत पीडा–झन्झट ब्यहोर्नुपर्ने परिस्थिति आएको छ । यसरी दलका नेताहरूले जथाभावी अन्तर्राष्ट्रिय मुलुकहरूका नेताहरूलाई चिड्याउने काम गरे भने हाम्रो मुलुक पनि सोमालिया, अफगानिस्तान र रुवान्डा आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन ।

हामीजस्ता सर्वसाधारण नागरिकले प्रधानसेनापतिज्यूसँग भेट गर्न सजिलो छैन, त्यसैले पत्रमार्फत् सन्देश पठाउन खोजिएको हो । यथार्थमा भन्नुपर्दा नेपाली सेनाको प्रधानसेनापतिले ‘जङ्गबहादुर राणा’कै अवतार लिनुपर्ने अवस्था छ । ताक परे तिवारी नत्र गोतामे स्वभावका स्वार्थी, अवसरवादी, गद्दार, राष्ट्रको अहित चाहने, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरी गर्दै आएका मन्त्री, सांसद, नेता र तिनका आसेपासेहरूलाई ठेगान लगाउने निकाय अरु कुनै बाँकी छैन । त्यसैले नेपाली सेनालाई हामीजस्ता पीडित जनताले गुहार्नुपरेको हो । नेताहरूले लुटेर थुपारेको सम्पत्ति राष्ट्रियकरण गरी विकास–निर्माणमा लगाउन आवश्यक छ । यो काम सेनाबाट बाहेक अन्यत्रबाट सम्भव नै छैन ।

खासगरी ०६२/६३ सालपछि प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद र राजनीतिक दलका तमाम नेताहरूको कारण मुलुकको स्वाधीनता नै धरापमा परेको छ । राष्ट्रघाती र गद्दार नेताहरूबाट मुलुकलाई जोगाउनुपर्ने अवस्था छ । सङ्घीयताका कारण मुलुकको आर्थिक अवस्था पनि जर्जर बन्दै छ । स्थानीय तहका हर्ताकर्ताहरू जनताको सेवा होइन आफ्नै थैलो भर्न हारालुछ गरिरहेका छन् । मुलुकको धुकधुकी मात्र बाँकी छ, यस्तै हालतमा छोड्ने हो भने कुनै पनि बेला प्राण जान सक्छ । प्रधानसेनापतिज्युले पनि टुलुटुलु हेरिबस्ने हो भने हामीजस्ता देशभक्त नागरिकले ज्युँदै मर्नुपर्ने हुन्छ । तसर्थ, नेपाली सेना मात्र अबको आशाको केन्द्र भएकोले प्रधानसेनापतिज्युले सोचेर कदम चाल्न ढिलो गर्नु हुँदैन । यसलाई अन्यथा नठानियोस् । हामीजस्ता पीडित सबै नागरिकको यो आर्तनाद हो, सुनुवाई होस् ।

– राकेश कुमार शर्मा
हेटौँडा उपमहानगरपालिका–२, मकवानपुर