बाबुको नाममा लुट !

बाबुको नाममा लुट !


काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो पिताका नाममा स्थापित फाउन्डेसनलाई निजी आर्जन र जीवन गुजाराको साधन बनाएको तथ्यहरू फेला परेका छन् । उनले जीपी कोइराला फाउन्डेसनलाई यसरी निजी स्वार्थमा दुरुपयोग गरेकी हुन् ।

प्राप्त जानकारीअनुसार फाउन्डेसनलाई नेपाल सरकार तथा मित्रराष्ट्रहरू भारत र चीनबाट करोडौँ रुपैयाँ अनुदानबापत प्राप्त हुने गरेको छ । सरकारले उपलब्ध गराएको तीन करोडभन्दा बढी रुपैयाँ, चीनबाट प्राप्त सहयोग ६० लाख र भारतबाट प्राप्त ७० लाख रुपैयाँको सुजाताले पूरै दुरुपयोग गरेकी छिन् । फाउन्डेसनको अनलाइन मिडियाका निम्ति भन्दै चीनसँग तीन किस्तामा लिएको पचासी (८५) लाख रुपैयाँ पनि दुरुपयोग भएको छ । फाउन्डेसनको नाममा डेढ करोड रुपैयाँमा घरजग्गा खरिद गरेर सुजाताले दुई करोड २० लाख रुपैयाँको बिल पेस गरेकी छिन् भने फाउन्डेसनकै पैसामा खरिद गरिएका दुई गाडी (स्कार्पियो र टोयोटा) पनि उनले निजी प्रयोगमा राखेकी छिन् ।

स्कार्पियो गाडी छोरीको बच्चालाई स्कुल पु¥याउने र ल्याउनेबाहेकको पूरै समय आफैँले चलाउने गरेकी छिन् भने टोयोटाचाहिँ छोरालाई प्रयोग गर्न दिएकी छिन् । छोरा आन्ड्रिया जोस्ट र छोरी मेलानी जोस्ट जर्मन नागरिक भए पनि सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा दुवै सन्तानलाई कानून नियमविपरीत ‘एनआरएनको स्ट्याटस’ दिलाएकी थिइन् । मेलानीको विवाह बंगलादेशी नागरिक रुबेल चौधरीसँग भएको हो, तर उनी नेपालमै बस्ने गर्छिन् । ज्ञातव्य छ, रुबेल नेपालमा ‘ब्ल्याक लिस्टेड’ छन् ।

छोरा आन्ड्रिया जोस्ट र छोरी मेलानी जोस्ट जर्मन नागरिक भए पनि सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा दुवै सन्तानलाई कानून नियमविपरीत ‘एनआरएनको स्ट्याटस’ दिलाएकी थिइन् ।

जीपी फाउन्डेसनको मकाउ, हङकङ र चीन हेर्ने कोअर्डिनेटर चयन गर्दा सुजाताले नौ लाख रुपैयाँ बुझेको चर्चा मकाउमा चलेको छ । चेलिबेटी बेचबिखन अपराधमा मुद्दा परेर हारेको र हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त मुद्दाका मूख्य अभियुक्त सुदर्शन थापामगरलाई सुजाताले नौ लाख रुपैयाँ लिएर कोअर्डिनेटर बनाएको बताइन्छ । सुदर्शन मकाउमा बस्ने गर्दछन् ।

त्यस्तै, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा फाउन्डेसनलाई उपलब्ध गराइएको साठी रोपनी जमिनलाई पनि निजी प्रयोजनमा ल्याउने योजना सुजाताले बनाएको बुझिएको छ । सो रमणीय जमिनमा बंगला बनाएर त्यहीँ बसोवास गर्ने सुजाताको योजना छ ।

यसरी जीपी फाउन्डेसनलाई सुजाताले केवल निजी स्वार्थमा दुरुपयोग गर्न थालेपछि फाउन्डेसनका जिम्मेवार सदस्यहरू आनन्द ढुङ्गाना र पुरुषोत्तम बस्नेतले राजीनामा दिएका छन् । फाउन्डेसनका नाममा सुजाताबाट भइरहेका ज्यादती सहन नसकेर ढुङ्गाना र बस्नेतले राजीनामा दिएको बुझिएको छ । पिता गिरिजाप्रसाद कोइराला जीवित रहँदा सबैभन्दा लाभ प्राप्त गर्ने व्यक्तिका रूपमा चिनिएकी सुजाता कोइरालाले मरेका बाबुको नामलाई समेत सेवाभन्दा आफ्नो मस्तीका निम्ति दुरुपयोग गर्न थालेपछि ढुङ्गाना र बस्नेत राजीनामा दिने निष्कर्षमा पुगेको बताइन्छ । भ्रष्टाचारको मामिलामा गिरिजाभन्दा कुनै पनि दृष्टिले उनकी छोरी कम नरहेको टीका–टिप्पणीसमेत जानकारहरूबीच हुन थालेको छ ।