छाउपडी : आतङ्कित बनाउने कि सुरक्षित ?

छाउपडी : आतङ्कित बनाउने कि सुरक्षित ?


■ बबिता बस्नेत

कुनै बेला थियो– मानिसहरू जङ्गलमा बस्थे, अहिले जस्तो बस्नलाई घरहरू थिएनन् । जङ्गली युगमा पनि महिलाहरूको रजस्वला हुन्थ्यो । लाउनलाई बस्त्र हुँदैनथ्यो, रूखका बोक्रा, स्याउला, पातले छोपेर रगत छोपिँदैनथ्यो, रगत छोपिए पनि त्यसबाट आएको बासना रोकिँदैनथ्यो । रगतको बासना परपरसम्म पुग्ने हुनाले बाघ, भालुलगायतका जङ्गली जनावरले बासना पछ्याउँदै आएर महिनावारी भएका महिलामाथि आक्रमण गर्न थाले । प्रत्येक महिनावारीमा महिलाको ज्यान जोखिममा पर्न थालेपछि रूख काटेर, हाँगाले बेरबार पारेर कोठा बनाइयो । यस्तो कोठा जहाँ जनावरले आक्रमण गर्न नसकोस् र महिलाहरू जोगिउन् । ढुङ्गेयुगमा महिलालाई जङ्गली जनावरबाट सुरक्षित गर्नका लागि अपनाइएको उपायलाई समयक्रममा हामीले छाउपडी गोठमा परिणत गरिदियौँ ।

प्रत्येक महिना महिलाको शरीरबाट चार–पाँच दिनसम्म रगत बग्ने प्रक्रिया शारीरिक मात्रै हो कि सांस्कृतिक पनि ? यो प्रथा, परम्परा, कुप्रथा के हो ? यो शारीरिक मात्रै हो भनुँ भने मन्दिरमा पस्न या पूजा गर्न किन रोक लगाइयो होला ? हाम्रा पुर्खाहरूले गरेका धेरैजसो अभ्यास झट्ट हेर्दा, सुन्दा अन्धविश्वासझैँ लागे पनि गहिरिएर अध्ययन गर्दा, बुझ्दा वैज्ञानिक लाग्छन् । अङ्ग्रेजीमा ‘मिन्स्टुरेसन’ ‘पिरयड’ भनिने यो प्रक्रियालाई संस्कृतमा ऋतु, रजस, मासिक धर्म र नेपालीमा महिनावारी, रजस्वला, नछुने भनिन्छ । अहिले महिनावारीलाई लिएर विभिन्न चर्चा–परिचर्चाहरू हुने गरेका छन् । कतिले यसलाई यो पवित्र कुरा भएको तर्क दिने गरेका छन् त कतिले गौरव गर्नुपर्ने भन्ने गरेका छन् ।

वास्तवमा यो नितान्त प्राकृतिक कुरा भएकाले यसमा गौरव या हीनताबोध गर्नुपर्ने विषय होइन । गौरव त आफूले आर्जेको कुरा या योगदानमा गर्ने हो । जसरी मानिस कुनै जात या लिङ्गविशेषमा जन्मिनुमा ऊ स्वयम्को कुनै भूमिका छैन त्यसैगरी नछुने हुने कुरामा महिला स्वयम्को कुनै भूमिका र योगदान छैन । प्रकृतिले गरेका कुराहरू अहिलेसम्म नाजायज देखिँदैनन्, त्यसैले सृष्टि संरचना र निरन्तरताका लागि प्रजनन भूमिका महिलालाई दिइएको छ । सोही कार्यको एउटा महत्वपूर्ण पक्ष महिनावारी प्रक्रिया हो ।

अहिले अकस्मात् छाउगोठहरूमाथि यसरी धावा बोलियो उक्त कार्यका लागि बर्दीवाला प्रहरी नै परिचालन भए, भइरहेका छन् । गोठहरू यसरी भत्काइँदै छ मानौँ अहिलेसम्म जे–जति अपराध भए तिनै गोठका कारणले भए ।

महिलाको शरीर चन्द्रमाको चक्रसँग सम्बन्धित छ भनिन्छ । सुन्दा अनौठो लाग्छ, तर चन्द्रमा उदाउने, अस्ताउने, खुम्चिने र फक्रिने प्रक्रियाले महिलाको शरीरमा प्रभाव पार्छ भन्ने छ । महिनावारी शारीरिक कुरा मात्र होइन, यसको मानसिक, भावनात्मक र मनोवैज्ञानिक पक्ष पनि त्यत्तिकै छ । रजस्वला हुँदाको केही दिनअघिदेखि मुड परिवर्तन हुन्छ । जिन्दगी ठीकठाक चलिरहेकै बेला पनि के–के नभएजस्तो, हतासजस्तो, चिड्चिडाहटजस्तो । त्यस्तो बेलामा फ्याट्ट केही बोल्दा तलमाथि पर्नु स्वाभाविकै हो । कतिपयले ‘महिलाको बोली र व्यवहारको टुङ्गो हुँदैन, कतिबेला खुशी हुन्छन्, कतिबेला दुःखी हुन्छन् थाहा पाउनै सकिँदैन, महिलालाई चिन्नै सकिँदैन, बिहान छुट्टिँदा खुशी अनुहार बेलुका भेट्दा रिसाइरहेको देखिन्छ’ जस्ता टिप्पणी गरेको पनि सुनिन्छ । यस्तो व्यवहारका पछाडि केले काम गरिरहेको हुन्छ भन्नेबारेमा भने हामीकहाँ खासै चर्चा–परिचर्चा गर्ने गरिएको छैन । रजस्वला शारीरिक र मनोवैज्ञानिक दुवै पक्षबाट त्यति सहज प्रक्रिया होइन ।

अहिले हामीकहाँ पश्चिम र सुदूरपश्चिमका केही जिल्लामा महिला नछुने भएका बेला बस्ने गरेका छाउगोठ सरकारले धमाधम भत्काउन थालेपछि यो विषयमा विशेष चर्चा गर्नैपर्ने भएको छ । डा. अरुणा उप्रेतीले दुई दशकअघिदेखि असुरक्षित छाउगोठका बारेमा बोल्दै, लेख्दै आउनुभएको थियो । तर, दशकौँसम्म उहाँको आवाज सुनिएन, अहिले अकस्मात् छाउगोठहरूमाथि यसरी धावा बोलियो उक्त कार्यका लागि बर्दीवाला प्रहरी नै परिचालन भए, भइरहेका छन् । गोठहरू यसरी भत्काइँदै छ मानौँ अहिलेसम्म जे–जति अपराध भए तिनै गोठका कारणले भए । छाउगोठलाई पक्राउ गरेर कारबाही गर्न मिल्ने भए अहिले ती क्षेत्रका प्रहरी थानाहरू, जेलहरू छाउगोठले भरिभराउ हुने थिए । खासमा गोठ भत्काउनुभन्दा पनि भत्काउनुपर्नेचाहिँ गोठ बनाउने अवधारणा थियो । महिनावारी के हो, के होइन भनेर बुझाउन सकेको भए ती गोठहरू स्वस्फुर्त रूपमा उनीहरू आफैँले भत्काउने थिए ।

अन्धविश्वासलाई सही कुरा के हो भनेर बुझाई वास्तविकताको आत्मसात्सहित बिश्वासमा परिणत गर्न त्यति सहज हुँदैन । जबर्जस्ती गोठ भत्काउने काम त हिजो माओवादी युद्धकालमा पनि भएको थियो । परिणाम के भयो ? उनीहरू गाउँघरमा हुन्जेल गोठ भत्किए, गाउँ छोड्नासाथ तिनै ठाउँमा गोठहरू ठडिए । हिजो माओवादीले गरेको असफल अभ्यास अहिले सरकारले गरिरहेको छ । छाउगोठ भत्काएपछि महिलाहरू ओडारमा, खोलाका किनारमा, बारीका कान्लामुनि बस्न थालेका समाचारहरू आइरहेका छन् । अभ्यासकर्तालाई सहमत नगराई, उनीहरूले आत्मसात् नगरी गोठ भत्काउँदा महिला थप जोखिममा परे, परिरहेका छन् ।

मन्दिर, पूजाजस्ता राम्रा कुरामा मात्र होइन मानिसको मृत्यु, काजकिरियाजस्ता स्थानमा पनि नछुने भएको समयलाई बर्जित गरिएको छ । महिलाको रूपमा कुनै व्यक्तिलाई नभएर उक्त समयलाई बर्जित गरिएको हो ।

यसको अर्थ छाउगोठ कायम राख्नुपथ्र्यो भन्ने होइन, के गर्न सकिन्छ भन्ने कुरामा व्यापक छलफलसहित पहिला वैकल्पिक उपाय निकालेर सोहीअनुरूपको अभ्यास गर्नुपथ्र्यो । जस्तो अछामको रामारोशन गाउँपालिकाले घरको आँगनमा कुलदेवताको मन्दिर बनाउने र महिनावारी भएका महिलालाई घरभित्र राख्ने निर्णय गरेको रहेछ । उक्त निर्णयलाई स्थानीयले खुशी साथ अपनाएर आँगनमा मन्दिरहरू बनिरहेको र महिलाहरू भित्रै बस्ने गरेको कुरा आएको छ । त्यस्तो बेलामा महिलाहरू घरभित्र बस्न हुँदैन भन्ने कारणमा कुलदेवता रिसाउने प्रमुख मानिँदै आएको सन्दर्भमा यसो गर्दा कुलदेवता रिसाउलान् भन्ने डर भएन, महिलाहरू पनि सुरक्षित भए, मानसिक आतङ्क पनि भएन । अहिले प्रहरीलाई गृह मन्त्रालयले आदेश दियो, गोठ भत्काइयो, तर त्यसपछिको अभ्यास के भयो, भइरहेछ भनेर अनुगमन कसले गर्ने ? कतिबेला को नछुने हुन्छ भनेर प्रहरीले कुरेर बस्ने कुरा आउँदैन ।

जात, धर्म, परम्पराअनुसार कतिपय कुराहरू हामी सबैले कुनै न कुनै रूपमा मानिरहेका हुन्छौँ । नछुने भएका बेला कुल देवताको कोठा (भण्डार भन्ने गरिएको थियो) मा जान हुँदैन, मन्दिर जान हुँदैन भन्ने कुरा सानैदेखि सुन्दै आएको र मान्यजनहरूले गरेको अभ्यास देख्दै आएकाले यो पङ्क्तिकारले त्यस्तो बेलामा मन्दिर जाने, दशैँतिहारमा टीका लगाउने हिम्मत कहिल्यै गरिनँ । पहिला नबुझेर गरिनँ, पछि बुझेर गरिनँ । नबुझ्दाको कुरा गर्नैपरेन, बुझ्ने भएपछि थाहा भयो महिनावारी भएका बेला नकारात्मक ऊर्जा प्रवाह हुँदोरहेछ । नकारात्मक ऊर्जा हुने भएकै कारण खाना बनाउन हुँदैन भनिएको रहेछ । खाना बनाउने मान्छेको मुडको प्रभाव खाना खाने मान्छेको शरीर र मानसिकतामा पर्छ भनिन्छ । सद्गुरु डा. शिवानी सबैले यो कुरा गर्दै आएका छन् । हामीले जति पवित्र भने पनि रजस्वलाका बेला आउने रगत पवित्र होइन दूषित नै हो । अहिले हामीलाई रगत व्यवस्थापनका लागि सहज भित्री बस्त्र र प्याडहरू आए, पहिला थिएनन्, त्यसैले पनि यस्तो बेलामा भान्सा, मन्दिरहरूमा नजानु भनियो । मन्दिर, पूजाजस्ता राम्रा कुरामा मात्र होइन मानिसको मृत्यु, काजकिरियाजस्ता स्थानमा पनि नछुने भएको समयलाई बर्जित गरिएको छ । महिलाको रूपमा कुनै व्यक्तिलाई नभएर उक्त समयलाई बर्जित गरिएको हो ।

अहिले प्रहरीलाई गृह मन्त्रालयले आदेश दियो, गोठ भत्काइयो, तर त्यसपछिको अभ्यास के भयो, भइरहेछ भनेर अनुगमन कसले गर्ने ? कतिबेला को नछुने हुन्छ भनेर प्रहरीले कुरेर बस्ने कुरा आउँदैन ।

कतिपयले नछुने बार्ने कुरालाई लिएर हिन्दूधर्मको बदनाम गर्ने कोसिस गरेको पनि पाइन्छ । तर, शिख धर्मबाहेक सबैले यसलाई अपवित्र मानेका छन् । मुस्लिम धर्ममा महिनावारी भएका बेला नमाज पढ्न पाइँदैन । यहुदीहरूले नछुने भएको समयलाई निधा भनिन्छ । त्यस्तो बेलामा महिला–पुरुषले कुनै पनि सामान एक–अर्कालाई दिने–लिने गर्दैनन् । इसाईमा चर्चअनुसार फरक नियमहरू हुने गरेका छन् । बौद्ध धर्ममा कतिपय गुम्बामा जान दिइँदैन, ध्यानका लागि भने कुनै बन्देज छैन । सबै धर्ममा रजस्वला भएका बेला यौन सम्बन्धलाई बर्जित गरिएको छ । अध्यात्मिक तवरबाट भने रजस्वलाका विषयमा कतै चर्चा पाइँदैन ।

हामीकहाँ मात्र होइन, विश्वका विभिन्न मुलुकमा नछुनेलाई विशेष रूपमा लिइन्छ । जापानका केही समुदायमा हामीकहाँ भन्दा बढी बारिन्छ । त्यस्तो बेलामा इन्डोनेसियामा खाना पकाउने, मन्दिर जाने या प्रार्थना गर्ने काम महिलाले गर्दैनन् । लाओसमा कति केटीहरू नछुने भएका बेला स्कुल नजाने गरेको अध्ययन नै सार्वजनिक भएको थियो । रोमानिया र इटालीमा महिलाले प्लान्ट र फलफूल छुँदैन रहेछन् । मलेसियामा प्रयोग गरेका कपडाहरू रगत नपखाली बाहिर फालेमा भूतले दुःख दिन्छ भन्ने मान्यता रहेछ । जापानमा सुशी (भात राखेर बनाइने परिकार) छुन नहुने मान्यता छ । अन्य धेरै मुलुकमा यस्तै विश्वास, अन्धविश्वासहरू कायम छन् । यी सबै मुलुकमा हामीकहाँ जस्तै हो, कुनै समुदाय र परिवारमा यो अभ्यास बढी छ, कहीँ कम छ, कहीँ छँदै छैन ।

महिनावारीका सम्बन्धमा नीति, नियम र कानुन नै बनाइएको देश सम्भवतः नेपाल मात्रै हो । हामीकहाँ २०६२ सालमा सर्वोच्च अदालतले निर्णय नं. ७५३१ को परामदेशसहितको फैसला छ । छाउपडी उन्मूलन निर्देशिका २०६४ छ । मुलुकी अपराध संहिता २०७४ ले भेदभाव तथा अपमानजन्य व्यवहारअन्तर्गत छाउपडीलाई राखेको छ । उक्त कानूनअनुसार छाउपडी कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ । यो कसुरमा ६ महिनाभित्रमा उजुरी गर्नुपर्ने व्यवस्था छ । कानूनमा यसलाई प्रथा भनिएको छ । खासमा नछुने बार्ने कुरा प्रथा भए पनि छाउपडीचाहिँ कुप्रथा हो । नेपाली शब्दकोशका अनुसार प्रथाको अर्थ ‘पिता पुर्खाको पालादेखि वर्तमानसम्म चल्दै आएको र जीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज’ भन्ने हुन्छ ।

चार दिन खाना बनाउनु नपर्ने र श्रीमान्सँग शारीरिक सम्बन्ध राख्नु नपर्ने कुरालाई उनीहरूले आफ्ना लागि सहज र राम्रा दिनका रूपमा लिएको कुराले पछिसम्म पछ्याइरह्यो । हामीले राजधानीमा बसेर नछुने बार्नुपर्दैन भनी दिने सुझावभन्दा उनीहरूको वास्तविकता धेरै फरक थियो ।

०७० मा अछाम र डोटीका महिलाहरूसँग धनगढीमा भेट्ने अवसर मिलेको थियो । सहजकर्ताको रूपमा रहेकी यो पङ्क्तिकारले कार्यक्रमको अन्तिम दिन ‘तपाईंहरूको जीवनमा सबैभन्दा सजिलो समय कहिले हो ?’ भनेर सोधेकी थिएँ । उनीहरूमध्ये अधिकांशले ‘छुई हुँदाको चार दिन’ भन्ने जवाफ दिए । कसरी ? प्रतिप्रश्नमा उनीहरूको जवाफ थियो, ‘आफूले नपकाई खान पाइन्छ, मर्द (पति) सँग बस्नुपर्दैन ।’ चार दिन खाना बनाउनु नपर्ने र श्रीमान्सँग शारीरिक सम्बन्ध राख्नु नपर्ने कुरालाई उनीहरूले आफ्ना लागि सहज र राम्रा दिनका रूपमा लिएको कुराले पछिसम्म पछ्याइरह्यो । हामीले राजधानीमा बसेर नछुने बार्नुपर्दैन भनी दिने सुझावभन्दा उनीहरूको वास्तविकता धेरै फरक थियो । कुनै बेला थियो (अहिलेसम्म पनि) महिलाहरूको जीवनको शब्दकोशमा छुट्टी भन्ने शब्द थिएन । त्यस्तो बेलामा महिनामा चार दिन नछुने बार्नुको अर्थ शरीरलाई आराम थियो । चार दिनसम्म जीवनमा ग्रहण लागेझैँका कष्टकर ती दिनमा पौष्टिक खानेकुरा र आरामको जरुरत हुन्छ । आरामका लागि सहज र सुरक्षित स्थानको आवश्यकता पर्दछ न कि छाउगोठ ।

अहिले नछुनेका नाममा जसरी छाउगोठहरूको प्रयोग भइरहेको छ तिनको उन्मूलन जरुरी छ, तर त्यो उन्मूलन आज भत्कायो भोलि बनाउने खालको हुनुहुँदैन । त्यसका लागि महिनावारीका बेला महिलालाई किन आरामदायी र सुरक्षित स्थान जरुरी छ भनेर बुझाउन सक्नुपर्छ । चार दिन खाना नपकाएर, मन्दिर नगएर केही पनि हुन्न, तर नछुनेका नाममा उनीहरूको जीवन असुरक्षित हुनुहुँदैन ।

हेर्नुहोस्, यी पनि तपाईंलाई रोचक लाग्न सक्छ-

सत्यवती-ऋषि परासर सम्बन्ध : सहमति या जबर्जस्ती
कलियुगमा के हुँदै छ ?
बलात्कार के हो, के होइन ?
‘सेक्स वर्कर्स’लाई भेटेपछि…
तपाईं बाँचिरहनुभएको छ ?