हिउँ वर्षाका कारण पाकिस्तान र अफगानिस्तानमा कम्तीमा १३० को मृत्यु

हिउँ वर्षाका कारण पाकिस्तान र अफगानिस्तानमा कम्तीमा १३० को मृत्यु


पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुवै देशका अधिकारीले पुष्टि गरेका छन् ।

पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले विपत् व्यवस्थापन अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेका छन् ।

‘पाकिस्तानप्रशासित कश्मीर क्षेत्रमा मात्रै हिमपातका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्,’ प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीले एक विज्ञप्ति जारी गरी बताएका छन् । हिमपातका कारण नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ कैयौँ मानिस हिमपातका कारण फसेका छन् भने बलोचिस्तानमा ३१ जनाको ज्यान गएको एएफपीले जनाएको छ ।

दक्षिण एशियाली मुलुक अफगानिस्तानमा पनि हिमपात र हिमपहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले पुष्टि गरेको छ । हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ ।

दुवै देशमा हिमपातपछि हिमाली तथा पहाडी त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् । उक्त क्षेत्रमा उद्धार टोलीहरू पुगिरहेका छन् । हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या अझ निकै बढ्नसक्ने बताइएको छ ।

पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। त्यहाँ कैयौँ मानिस फसेका छन् ।