दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु


काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा.६४प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।

उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका घाइते सागर श्रेष्ठको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए । प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्कार्पियोमा ठोक्किएर दुर्घटना भएको हो ।

चाबहिलबाट साँखु जाँदै गरेको बा.१६च ८७७० नम्बरको स्कार्पियो सडकको बीचमा रोकिराखेको र उक्त स्कार्पियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर ०६ पीडी ४०५९ नम्बरको भारतीय स्कार्पियोले थप ठक्कर दिएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले दुवै स्कार्पियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।