‘नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल’

‘नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल’


नेपाल र भारतको सम्बन्ध हिमालझैँ अटल र गङ्गाझै पवित्र रहेको नेपाल र भारतका अधिकारीले जोड दिएका छन् । भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुर र दरभङ्गा जिल्लाको दरभङ्गामा भएको द्विपक्षीय बैठक तथा सहभ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीहरुले सो कुरा बताएका हुन् ।

भारत बिहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डका एसडिएम सुभाषकुमारले नेपाल भारतको सम्बन्ध बेटी रोटीको जस्तै भएको बताए । उनले दुई देशको सम्बन्ध बेटी–रोटीकै भएका कारण अन्य मुलुकमा जानका लागि प्रवेशआज्ञा र राहदानी लगाइए पनि नेपाल र भारतकालाई आवश्यक नभएको उल्लेख गरे ।

दुई देशको सम्बन्ध अटुट भएकै कारणले दुई देशका नागरिकले खुला रूपमा आवतजावत गर्न सकिरहेका एसडिएम सुभाषकुमारले बताए । दुई देशमा कुनै किसिमको समस्या भए आपसी छलफल र वार्ताबाट समाधान गर्न सकिनेमा उनले जोड दिए ।

इनरुवा नगरपालिका (सुनसरी)का प्रमुख राजन मेहताले नेपाल र भारतको सम्बन्ध हिमालझै अटल र गङ्गाझै पवित्र भएको उल्लेख गर्दै भारतीय अधिकारीलाई नेपाल भ्रमण गर्नका लागि निम्तोसमेत दिए । उहाँले नेपालमा अहिले भ्रमणवर्ष चलिरहेकाले भ्रमणका लागि एसडिएम सुभाषकुमारलाई आग्रह गरे । नगर प्रमुख मेहताले भ्रमण वर्षका अवसरमा पोखरा, काठमाडौंको पशुपतिनाथलगायगका क्षेत्रमा भ्रमण गराउन र स्वागत गर्नका लागि आफू तयार रहेको जानकारी गराएका थिए ।

भ्रमण वर्षलाई लक्षित गरेर छिट्टै आफूहरुले नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने एसडिएम सुभाषकुमारले प्रमुख मेहता समक्ष प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा मन्तव्य दिँदै भारत बिहार सुपौल जिल्ला वीरपुरका एएसपी रमानन्दकुमार कौसलले सीमा क्षेत्रमा दुवै देशका नागरिकमा केही समस्या भएकाले यसको समाधानका लागि आग्रह गरे ।

विवाह, व्रतबन्धलगायतका बेला नेपाली वा भारतीय क्षेत्रका नागरिकले कुनै पनि सामग्री आयात निर्यात गर्दा समस्या हुने भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए । भारतको दरभङ्गा जिल्लाको दरभङ्गामा रहेको दरभागा राजाको सङ्ग्रहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टरलगायतको क्षेत्रको अवलोकन गराइएको थियो ।

कार्यक्रम नेपाल भारतमैत्री सङ्घ इनरुवा सुनसरी र अनुमण्डलीय जनचेतना समिति भारत वीरपुरको समन्वयमा भएको राससले जनाएको छ । बताइएअनुसार कार्यक्रममा नेपाल भारतमैत्री सङ्घका अध्यक्ष हेमराज पोखरेल, सन्तोषदेव, गिरीराज अटल, कृष्ण दाहाल, राससकर्मी अजितकुमार झा, सीताराम पौदार, पुरुषोत्तम घिमिरे लगायतको सहभागिता रहेको थियो ।