राजधानी हेटौँडा तोकिनु खुशीको कुरा, तर धेरै उच्छृङ्खल नबनौँ : मुख्यमन्त्री

राजधानी हेटौँडा तोकिनु खुशीको कुरा, तर धेरै उच्छृङ्खल नबनौँ : मुख्यमन्त्री


■ रिपेश दाहाल, हेटौँडा

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका नेकपाका सदस्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रदेशसभामा सहभागी दल नेमकिपा, राप्रपालगायत सबै दलको साथ सहयोग प्राप्त भएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी हेटौँडा तोकिनु मकवानपुर वा हेटौँडाका लागि भन्दा पनि प्रदेशवासी सबैका लागि खुशीको कुरा भएको दाबी गर्दै भन्नुभयो– ‘यस घोषणाले हेटौँडावासीलाई बढी उत्साहित बनाएको हुन सक्छ त्यो स्वाभाविक पनि हो, यसमा खुशी हुनु पनि पर्छ तर ।धेरै उच्छृङ्खल हुनु हुँदैन ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौँडा बनाइनुपर्ने पक्षमा प्रदेशसभाका सबै सदस्यको मत रहेछ भन्ने देखिएको बताउनुभयो । उहाँले हेटौँडा प्रदेशको ऐतिहासिक स्थान हो, थियो र अझै पनि रहेछ भन्ने कुरा आजको नतिजाले देखाएको बताउनुभयो ।

प्रदेशको राजधानी हेटौँडा भएकामा नेकपा नेता तथा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले खुशी व्यक्त गर्नुभएको छ । सभापति दाहालले हेटौँडा राजधानी घोषणा भएसँगै जनमानसको अन्योल समाप्त भएको बताउँदै भन्नुभयो, ‘अब हेटौँडालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । सबैको सामूहिक प्रयासको सफलता हो यो, हामी सबै मिलेर आगामी दिनमा हेटौँडालाई राजधानीलायक बनाउन धेरै काम गर्न बाँकी छ ।’ संविधानसभा सदस्य अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडा तोकिनु मकवानपुरवासीका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११० सदस्यमध्ये एक जनाले संसद्मा उपस्थिति जनाउनुभएको थिएन । सभामुखबाहेक १०८ प्रदेशसभा सदस्य प्रदेशको नामकरणका लागि भएको मतदानमा सहभागी हुनुभएको थियो । सबै सदस्यले प्रदेशको नाम वाग्मती राखियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गरेका थिए । हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका लागि भएको मतदानमा हेटौँडाको पक्षमा १०५ र विपक्षमा तीन मत परेको छ । काभ्रेपलाञ्चोकको धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका पक्षमा तीन र विपक्षमा ।१०१ मत परेको थियो । काभ्रेका चार प्रदेशसभा सदस्यले धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत जाहेर गरेका थिएनन् ।