तेहरानमा बेलायती राजदूत पक्राउ, तीन घण्टापछि रिहा

तेहरानमा बेलायती राजदूत पक्राउ, तीन घण्टापछि रिहा


विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ ।

कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकारविरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको र उनलाई करिव तीन घण्टापछि छोडिएको थियो ।

गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ युक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकारविरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उनलाई पक्राउ गरेका एएफपीले जनाएको छ ।

यसैबीच बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भनेका छन्– ‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु ‘अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन’ हो ।’ तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई पक्राउ गरिएको थिएन तर गैरकानूनी रूपमा गरिएको भेलामा ‘अपरिचित विदेशी’ देखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उनको परिचय खुलेपछि प्रहरीले उहाँलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।’

यसैक्रममा इरानका लागि बेलायती राजदूतले तेहरानमा यूक्रेनी विमानमा मृत्यु भएका आफन्तहरूको प्रदर्शनमा आफू सहभागी नभएको प्रष्टिकरण दिएका छन् ।

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको भएपनि ‘भुलवश’ युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको शनिबार इरानी राष्ट्रपति हसन रौहानीले स्वीकार गरेका थिए ।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए । त्यस्तै स्वीडेन, बेलायत, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा यात्रारत थिए । इरानी सञ्चारमाध्यमले जनाएअनुसार तेहरानको अमिर कबिर विश्वविद्यालयमा शनिबार विद्यार्थीहरूले विमानमा ज्यान गुमाउनेहरूको सम्झनामा एक कार्यक्रम गरेका थिए । तर उक्त कार्यक्रमका सहभागी पछि प्रदर्शनमा सहभागी भएको बताइएको छ ।

बेलायती राजदूत मकेयरद्वारा ट्वीटमार्फत् जारी सन्देशमा भनिएको छ, ‘मैले प्रदर्शनमा भाग नलिएको कुरा पुष्टि गर्न चाहन्छु । तेहरानमा गत बुधबार यूक्रेनी विमानको पीएस ७५२ नम्बरको उडानका मृतकको सम्झनामा भएको कार्यक्रममा सहभागी भएको र मलाई फर्किने क्रममा करिब आधा घण्टासम्म नियन्त्रणमा लिइएको हो ।’

उनले भनेका छन्– ‘मृृतक केही बेलायती नागरिकसमेत भएकाले सम्मानमा सहभागी हुनु सामान्य हो तर करिब पाँच मिनेटमा केही सहभागीले नारा लगाउन सुरू गरेपछि म बाहिरिएको थिएँ । कूटनीतिज्ञलाई पक्राउ गर्नु सबै मुलुकमा पक्कै पनि गैर–कानूनी हो ।’

इरानको मेहर न्यूज एजेन्सीले बेलायती कूटनीतिज्ञ रब मकेयरलाई ‘हिंसा भड्काउने शङ्कास्पद गतिविधि’ गरेको आरोपमा नियन्त्रणमा लिई सोधपुछ पछि छोडिएको बताएको छ । तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उहाँ इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि जानकारी गराएको छ ।