यसरी मनाइयो सिड्नीमा ‘पौष २७’ अर्थात् ‘नेपाल डे’

यसरी मनाइयो सिड्नीमा ‘पौष २७’ अर्थात् ‘नेपाल डे’


■ राजन घिमिरे, सिड्नी

आज पौष २७, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन । मूलुकमा मात्र होइन, प्रवासमा रहेका नेपालीहरूले पनि टुक्रा–टुक्रामा बिभाजित मूलुकलाई एउटै ढिक्का बनाएर नेपालको नाम स्थापित गराउने पृथ्बीनारायण शाहको योगदानको चर्चा गरे । ‘हामी यतिबेला यो र उ भनेर होइन, नेपाली भएर यो भेलामा उभिएका छौँ । इतिहास बिर्सने धृष्टता हामी कदापि नगरौँ ।’ सिड्नीमा आयोजित कार्यक्रममा मुलुकलाई माया गर्ने नेपालीहरूको भनाई थियो यो ।

नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको अर्बनमा आयोजित राष्ट्रिय एकता दिवसको उदघाटन स्थानीय राष्ट्रप्रेमी अन्जना कार्की बस्नेत, सन्ध्या शाह र उषा बारियाले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए । आजको समयमा एकताको महत्व झनै बढेको महसुस भएको कार्यक्रममा बताइयो ।

दिनेश पोखरेल, दिनेश जोशी, डिल्ली ढकाल, कन्चन पोखरेल, सुरज वली, समित केसी, दीपक पौडेल, प्रकाश हुमागाईं र रोशन खतिवडा लगायतले इतिहास बिर्सन नहुने र मुलुकको लागि योगदान दिने ऐतिहासिक पुरूषको योगदानलाई कहिल्यै मेट्न दिन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार हेमन्त काफ्ले, उमेश पोखरेल, बुद्धि डल्लाकोटीले प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीहरूलाई नेपालको इतिहास र एकताको बारेमा जानकारी दिनुपर्ने कुरा औंल्याएका थिए । उक्त कार्यक्रमको सञ्चालन मदनमणि अधिकारीले गरेका थिए ।

अष्ट्रेलियामा रहेका नेपालीहरूले पौष २७ लाई अन्तर्राष्ट्रिय नेपाली दिवस (नेपाल डे) को रूपमा मनाउँंदै आएका छन् । सन् २०११ देखि यो कार्यक्रमको अगुवाई गर्दै आएका नेपालप्रेमी एबं ब्यवसायी हुन् डिला खरेल । ‘प्रवासमा सबै नेपालीहरूले नेपाल मिस गरेका छन् र हामी जहाँ गए पनि मुलुकको इतिहासलाई बिर्सन सक्दैनौँ । प्रवासमा पनि यो भेला एकता र सामूहिक बलको उदाहरण हो’– कार्यक्रमका संयोजक डिला खरेलले बताए । खरेल यतिबेला पौष २७ लाई ‘इन्टरनेशनल नेपाल डे’को नामले मनाउनु पर्ने योजनाका साथ लागिपरेका छन् ।