हेटौँडा र बागमतीका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ‘ह्विप’

हेटौँडा र बागमतीका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ‘ह्विप’


प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकमत देखिएका छन् ।

ती दलका आइतबार बिहान बसेको संसदीय दलको अलगअलग बैठकले राजधानी हेटौँडा र नाम बागमतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्विपसमेत जारी गरेका छन् ।

प्रदेश सभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र कांग्रेसले ह्विप जारी गरेका हुन् ।

नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौँडा र बागमतीका पक्षमा मतदान गर्ने जानकारी दिए ।
रासस