आँधीको घोडा चढेर आएको काउसो



■ रामेश्वर राउत ‘मातृदास’

कहाली लाग्दो अनिकालको पाटो
न ढुङ्गा राख्ने भयो न जीवनदायी माटो
आँधीको घोडा चढेर आएको यो काउसो,
शिरदेखि पाउसम्म अन्योल र आततायीपूर्ण
काँढा उमारिराखेको छ यत्रतत्रसर्वत्र,
समयसँग रूनलाई न आँशु न हाँसो बाँकी छ
मौन चूपचाप आकाश/धरती कहालिरहेकि छ
पुकार तिम्रै जय–जय काली ! जय–जय गोरख !!

।।१।।

आशावरी धून बजाउने भाषाको मुटु र मेरूदण्ड
साइनो सम्बन्ध भताभुङ्ग छ मान्छेको मन
पन्छीहरूको उत्साह अन्तर–कुन्तरबाट फक्रिरहन्छन् दुवो
समयले बारम्बार पुकार गरिरहेको छ
वीरैवीरहरूको शिर यो परमवीरहरूको आँगन
तिम्रो महानताको उकास/तिम्रै विकास
जय–जय काली ! जय–जय गोरख !!

।।२।।

एउटा आधार जीवन उभिने ढुङ्गो
पाइला चालेपछि लगाउनैपर्छ टुङ्गो
महानताको शिखर एऽ महापुरूषहरूको ढुकढुकी हो !
एक रौँ तलबितल छैनन् प्राणेश्वर – मरूदगणहरू
पीडादायी ज्युँकात्युँ छ अनकन्टार अदृश्य खाटो
एऽ भद्रकाली ! विन्ध्यबासिनी !! बाग्लुङ भगवती !!!
यो धरती/आकाशको मनमोहक बाँसुरी,
जय–जय काली ! जय–जय गोरख

!! ।।३।।

भात–भत्ता÷निजी ऐश आराम र सुख–सुविधा
यो जिन्दगी माटाको मुहानमा फुलेको सौन्दर्यपूर्ण फूल
मात्र भतुवाको आशामुखी भात किमार्थ नहोस् जिन्दगी
अविचलित ऐरावत हात्ती लम्किरहेको छ समय
समयले नै छिनोफानो गर्ने छ जीवनका सम्पूर्ण यात्रापथ
बाँकी मौन चूपचाप आशावरीको मधुर धुनबजाएर
सम्पूर्ण उत्साह/उमङ्ग एकसाथ तिमीमै समर्पित
जय–जय काली ! जय–जय गोरख

!! ।।४।।

भीरमाहुरीको भीरमा आकाशका तारा चम्किरहेझैँ
मान्छेको मनमा जीवनदायी बाँसुरी बजिरहन्छ बारम्बार
गडगडाउँदै विषाक्त बाढी बगिरहेको छ बगोस्,
यी सुरम्य हिमालहरू घामका झुल्का मुस्कुराइरहन्छ
मानसरोवर एऽ हृदयकी अविचलित निर्मलगङ्गा
सारङ्गा/गाण्डीव/पाशुपतास्त्र निरन्तर–निरन्तर पुकार
जय–जय काली ! जय–जय गोरख



।।५।।

प्रतिक्रिया