इराकबाट सेना फिर्ता नगर्ने अमेरिकाको प्रष्टोक्ति

इराकबाट सेना फिर्ता नगर्ने अमेरिकाको प्रष्टोक्ति


अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित ५ जनाको मृत्यु भएको घटनापछि इरान अमेरिकाविरुद्ध अत्यन्त आक्रोशित देखिएको जगजाहेर नै छ ।

यसरी अमेरिका र इरानबीचको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरेको छ । संसदको निर्णयअनुसार इराकी सरकारले अमेरिकालाई आफ्नो सेना इराकबाट फिर्ता लैजान आग्रह गरेको छ । तर इराकी आग्रह अस्वीकार गर्दै अमेरिकाले इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।

सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाई आक्रमण गरेपछि इराक बिचलित बन्न पुगेको छ । यसै सिलसिलामा इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन शुक्रबार आग्रह गरेका थिए । तर, इराकी प्रधानमन्त्रीको आग्रहलाई संयुक्त राज्य अमेरिकाले अस्वीकार गरेको छ ।

एएफपीका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भनेका छन्, ‘यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । बरु वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।’

ओर्टागसले अगाडि भनेका छन्– ‘अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ ।’