‘बोइङ ७३७ लाई इरानी क्षेप्यास्त्रले खसालेको हुन सक्ने’

‘बोइङ ७३७ लाई इरानी क्षेप्यास्त्रले खसालेको हुन सक्ने’


पश्चिमी मुलुकहरूद्वारा दाबी गरिएअनुसार गत बुधबार इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानलाई इरानी क्षेप्यास्त्र लागि खसेको हुनसक्ने तर यो कुरा पुष्टि नभएको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार खुलासा गरेका छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत) र क्यानाडाले उनीहरूको दाबीलाई पुष्टि गर्न प्रमाण उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

विमान दुर्घटना हुनुमा जहाजमा नै प्राविधिक समस्या देखिएको तेहरानले दाबी गरेको छ तर अमेरिका, बेलायत र क्यानडाका अधिकारीले विमानलाई क्षेप्यास्त्रले लागेको श्रव्यदृश्य आफूसँग उपलब्ध रहेको बताएका छन् ।

‘हामी हाम्रा यूक्रेनी प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेका छौँ । विमानमा क्षेप्यास्त्रले लागेको भन्ने दावीलाई खारेज गर्न सकिन्न तर शुक्रबारसम्म दावी पुष्टि भएका छैनन्’, यूक्रेनी राष्ट्रपतिले भनेका छन् ।

अमेरिका, बेलायत र क्यानाडा सरकारद्वारा जारी गरेका विज्ञप्तिलाई लिएर हामीले उनीहरूलाई घटनाबारे अनुसन्धानरत आयोगसमक्ष तथ्य प्रस्तुत गर्न आग्रह गर्दछौँ, जेलेन्स्कीले टेलिग्राम ब्लगमा लेखेको रूसी समाचार संस्था स्पुटनिकले उल्लेख गरेको छ ।

चालक दलका नौ सदस्यसहित १७६ जना लिएर इरानको राजधानी तेहरानबाट यूक्रेनका लागि उडेको केही मिनेटमा विमान इरानमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना हुनुभन्दा केही मिनेट पहिले इरानले इराकस्थित अमेरिकी शिविरलाई लक्षित गरी आक्रमण गरेको थियो ।

विमान दुर्घटनाबारे जारी अनुसन्धानका बिषयमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग कुराकानी गर्ने जेलेन्स्कीले बताएका एएनआईले जनाएको छ ।