आफ्नै नेताहरूलाई अन्याय गर्न माहिर छ नेपाली काङ्ग्रेस

■ केशवप्रसाद भट्टराई



१. मातृका बाबु सन्दर्भ :

वीपी हुनुहुन्नथ्यो, त्यसैले नेपाल भारतसम्बन्धी मेरो पहिलो पुस्तकको भूमिका लेख्ने उचित पात्र मातृकाबाबु हो भन्ने मलाई लाग्यो । त्यतिखेर म नेपाल राष्ट्रिय माध्यमिक शिक्षक सङ्घको केन्द्रिय सदस्य थिएँ र मातृकाबाबुका जेष्ठ सुपुत्र विमल कोइराला त्यसको अध्यक्ष ।

विमल दाइ हस्ते मैले सो प्रयोजनको लागि मातृकाबाबुसमक्ष पाण्डुलिपी पठाएँ र केही महिनापछि विराटनगर पुगेँ, मातृकाबाबुलाई भेटेँ । मातृकाबाबुले भावुक भएर भन्नुभयो, ‘मेरो पुस्ताबाट त मैले न्याय पाइनँ नै, भविष्यको पुस्ताले मलाई न्याय गर्छ जस्तो लागेको थियो, तर तपाईंको पाण्डुलिपि पढेपछि मेरो त्यो आशा बाँकी रहेन ।’

म अक्क न बक्क भएँ ।

उहाँले स्पष्ट पार्दै भन्नुभयो- ल भन्नोस् त… सात सालमा हामीले क्रान्ति गऱ्यौँ र त्यो क्रान्तिको सर्वोच्च कमान्डरको हैसियतमा क्रान्तिको सफलताको लागि राजा र भारतको निर्णायक भूमिका त मैले पनि अनुभव गरेँ भोगेँ हुँला नि त ।
पार्टीको अभाव कहाँ छ त्यो पनि देखेको थिएँ ।
मेरो यौटै कुरा थियो, सात सालको क्रान्ति र प्रजातन्त्रको स्थापनामा राजासमेतको निर्णायक भूमिका रहेको र हामी राजनीतिक शक्तिको रूपमा बलियोसँग मुलुकमा स्थापित नहुँदै हामीले राजासँग सिँगौरी खेल्न थाल्यौँ भने हामी त कमजोर हुन्छौँ-हुन्छौँ प्रजातन्त्र पनि पराजित हुन्छ भन्ने मेरो भनाई थियो ।

त्यसवापत मलाई काङ्ग्रेसले निष्काशन गऱ्यो ।

मैले आठ सालमा जे भन्दा पार्टीले मलाई दण्डित गऱ्यो पछि आएर २०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति अङ्गिकार गरेर त्यही त भने नि !

मैले अत्यन्त सन्तुलित भएर पुस्तक लेखेको सोचेको थिएँ,
एउटा सन्दर्भमा काङ्ग्रेस र वीपीको आलोचना पनि गरेको थिएँ ,
त्यसलाई पछि किसुनजीले अनुमोदन पनि गर्नुभएको थियो तर मातृकाबाबुले उठाउनुभएको कुरामा मेरो ध्यान गएको थिएन ।
मनभरी हुनुभएका मातृकाबाबुसँग मैले मेरो पुस्तकको भूमिकाबारे सोध्ने हिम्मत पनि राखिनँ, बिदा भएर निस्किएँ ।
बाहिर मातृकाबाबुका माहिला सुपुत्र कमल कोइराला बसिरहनुभएको रहेछ, उहाँले सात साल र त्यसपछिका केही रोचक र महत्वपूर्ण सन्दर्भ उठाउनुभयो, म हिँडे !

२. सुवर्ण समशेर सन्दर्भ :

सात सालको क्रान्तिको सम्पूर्ण खर्च कलकत्तामा व्यापार व्यवसायमा राम्रै जमेर बस्नुभएका सुवर्ण समशेर र महावीर समशेरले ब्यहोर्नुभएको ।
बर्माबाट हतियार ल्याउन र ल्याइएका हतियारहरू महावीर समशेरको हवाई कम्पनीका हवाइजहाजहरूबाट नेपाल भारत सीमामा हतियार पुऱ्याइएको थियो र त्यहाँबाट मुक्ति सेनाको हातमा ती हतियार पुगेको थियो ।
महावीर समशेर पनि पछि मातृकाबाबु जसरी नै काङ्ग्रेसबाट निष्काशित हुनुभएको ।
सुवर्ण समशेरले १८ सालको विद्रोहको खर्च पनि आफैँ ब्यहोर्नुभयो !
निर्वासनमा रहेका, जेलमा रहेका कतिपय काङ्ग्रेसीका परिवारका भरण (पोषण र शिक्षा(दीक्षा विवाह(व्रतबन्धको खर्च समेत सुवर्णजीले ब्यहोर्नुहुन्थ्यो १
उहाँ जीवित रहुञ्जेल त्यो गरिरहनुभयो ।
आजको काङ्ग्रेसले सुवर्णजीलाई सम्झिँदै सम्झिँदैन ।

काङ्ग्रेसको आत्मा हो वीपी !
काङ्ग्रेसको प्रेरणा र उर्जा हुनुहुन्थ्यो वीपी !
तर वीपीको निधनको तेस्रो वर्षमा वीपीका सबैभन्दा ठूला सहयोगी र अनुयायी गणेशमानजी, किसुनजी र गिरिजाबाबुले वीपीको नीतिविपरीत २०४२ सालमा कम्युनिस्टहरूसँग मिलेर राजा र पञ्चायतविरूद्ध सत्याग्रह र पछि २०४५ सालमा जानआन्दोलनको नेतृत्व गर्नुभयो ।
राष्ट्रिय मेलमिलापको नीतिको मर्ममा त्यहीँबाट प्रहार आरम्भ भएको हो ।

३. किसुनजीलाई दुई दुईपटक चुनाव हराउने, निरन्तर अपमानित र लाञ्छित गराउने कार्य

जन आन्दोलनपछिको त्यत्रो ठूलो जटिलतालाई चिर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति संतुलन मिलाउँदै किसुनजीले एक वर्षभित्रै मुलुकलाई संविधान दिनुभयो र र्को छ महिनमा चुनाव गराउनुभयो । तर काङ्ग्रेसले अन्तर्घात गरेर उहाँलाई हरायो !
मदन भण्डारीको दुखद निधनपछि सो स्थानमा उहाँ उठ्नुभयो र फेरि हराइयो ।

किसुनजी, गिरिजाबाबु र सुशीलदा पो हुनुहुन्न… त्यो हराउने र हराउने कुराको साक्षी त काङ्ग्रेसमा अझै थुप्रै हुनुहुन्छ ।
आफ्नो सभापतिको उम्मेदवारीविरूद्ध लक्षित प्रधानमन्त्री गिरिजाबाबुको झन्डै १९ मिनेट लामो वक्तव्य र अन्तर्घातका र षड्यन्त्रबाट पार्टीभित्र उत्पन्न चरम असन्तोष र आक्रोशमध्यको त्यो पराजयपछि अझ किसुनजीलाई नै दोषी सावित गर्ने र अर्को पार्टी निर्माण गर्ने सम्पूर्ण तयारीका साथ प्रज्ञा प्रतिष्ठानमा एउटा भेला आयोजना गरिएको थियो —
त्यहाँका हरेक वक्ताले पार्टी सभापति किसुनजी र प्रधानमन्त्री गिरिजाबाबुको रोहवरमा किसुनजीविरूद्ध पोखेको अत्यन्त अमर्यादित र अशोभनीय घृणा, लाञ्छना र विषवमन अझै कतिको लागि पीडा बनिरहेको होला ।

आफ्नो प्रतिरक्षामा उहाँले एक वचन बोलेको भए त्यहीँबाट आर्को पार्टी घोषणा गर्ने आयोजक तयारी थियो, तर किसुनजीले टाउको निहुराएर सबै सुन्नुभयो !
निलकण्ठले जस्तै विष पिउनुभयो, घृणाको भार थाप्लोमा लिनुभयो !
कुनै अपराध नगरेर पनि भेलासमक्ष उहाँले माफी माग्नुभयो र पार्टी विभाजनको लागि निउ थापेर बसेकालाई पार्टी विभाजन गर्नबाट रोक्नुभयो ।
झापाको झापा कलबलगुडीमा भएको अधिवेशनमा गिरिजाबाबुका विरूद्ध गणेशमानजी र महाधिवेशनको ठूलो पङ्क्ति उभिएको थियो फेरि किसुनजीनै गिरिजाबाबुको सुरक्षाकवच भएर उभिनुभयो ।
गिरिजाबाबुको जिम्मा लिनुभयो !

प्रधानमन्त्रीको रूपमा आएको केही महिनाभित्रै गिरिजाबाबुले शेख इद्रिस, बासु रिसाल, तारानाथ रानाभाट, ढुण्डीराज शास्त्री, गोपालमान श्रेष्ठ चिरिन्जीवी वाग्ले जस्ता वरिष्ठ नेताहरूलाई पार्टी सभापति र सम्बन्धित मन्त्रीहरूलाई एक वचन नसोधी एकाएक हटाइदिनुभयो ।

त्यसैले मुलुक मध्यावधिमा जाने स्थिति बन्यो र मुलुक राजनीतिक अस्थिरता र माओवादी द्वन्द्वको चरणमा प्रवेश गऱ्यो ।
२०५६को निर्वाचन किसुनजीलाई प्रधानमन्त्री बनाउने भनेर लड्यो काङ्ग्रेस !
बहुमत पनि आयो !
किसुनजी प्रधानमन्त्री पनि हुनुभयो तर आठ महिनामै किसुनजीलाई जबर्जस्ती गरी अपमानित गरेर हटायो काङ्ग्रेसले !
रुँदै संसदबाट बिदा भएर निस्कनुभयो किसुनजी !

क्रमशः

प्रतिक्रिया