सेनाको विमानमा आगलागी, सबै यात्रुको सकुशल उद्धार

सेनाको विमानमा आगलागी, सबै यात्रुको सकुशल उद्धार


पूर्वी डीआर कङ्गोे शहर गोमामा अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ । विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट बिहीबार (९ जनवरी) गोमाका लागि उडान गरिरहेको सो विमान अवतरणका क्रममा बायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ ।

कङ्गोस्थित राष्ट्रसङ्घीय समूहलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबै जनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन ।

विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भए पनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ ।

द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालीन सोभियत सङ्घमा निर्मित आन्टोनोभ हो ।