अष्ट्रेलियामा सन्दिपको हाय..हाय.., खेलसँगै चुल्याए देशको चर्चा

अष्ट्रेलियामा सन्दिपको हाय..हाय.., खेलसँगै चुल्याए देशको चर्चा


■ राजन घिमिरे, सिड्नी

उत्कृष्ट क्रिकेट खेल्ने क्षमताकै कारण सन्दिप लामिछानेलाई अष्ट्रेलियाको चर्चित क्रिकेट टिम मेलबर्न स्टार्सले लाखौँ डलर तिरेर आफ्नो टिममा अनुबन्धित गरेको हो । अभावबीच पनि नेपालमा अगाडि बढ्न बाध्य एउटा नेपाली खेलाडीको यो छलाङ साँच्चै नेपाल र नेपालीका लागि गौरवको कुरा हो ।

यसरी नेपाली खेलाडीलाई डलर तिरेर ल्याउँदा अष्ट्रेलियाको मेलबर्न टिमलाई कतै कुनै पछुतो छैन, किनकि सन्दिपले हाल अष्ट्रेलियामा सञ्चालन भैरहेको विग ब्यास लिग क्रिकेट प्रतियोगितामा यस्तो ‘वाह !’ गर्न लायकको खेल खेले कि पूरा अष्ट्रेलिया उनको तारिफमा ब्यस्त छ । यता अष्ट्रेलियालाई कर्मभूमि बनाएर आफ्नो यात्रा अगाडि बढाइरहेका यहाँका प्रवासी नेपालीहरूले पनि अष्ट्रेलियनलाई रवाफ देखाउँंदै भन्न पाएका छन्– ‘हाम्रो नेपाली खेलाडी हो, कमजोर हुँदैन ।’

अष्ट्रेलियामा बिग ब्यास लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार र अष्ट्रेलियामा भइरहेको आगलागीलाई समेटेर आफ्नो जुत्ता रङ्ग्याएका छन् । सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ । मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागीपीडितका लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।

सन्दिप अष्ट्रेलियाको मिडियाभरि छाएका छन् । यो क्रम बढ्दै अन्य देशका मिडियासम्म पुगेको छ । उनले बुधवार मेलबर्नमा सञ्चालन भएको खेलमा बलिङ गरेका थिए । प्रतियोगितामा ‘क्याच’ पनि गरे । यो कारणले मात्र होइन कि आफूले लगाएको जुत्तामा भिजिट नेपाल २०२० र अगोका कारण शोकमा परेको अष्ट्रेलियालाई सहयोग गरौँ भन्ने नारा लेखेको कारण दर्शक मात्र नभएर अष्ट्रेलियाकÞो मिडियाको ध्यान खिचेका थिए । आफू खेल्न आएको मूलुक आगोको शोकमा भएकोमा सन्दिपले देखाएको साथ, सहानुभूति र स्नेहले गर्दा अहिले यहाँ रहेका नेपालीहरूको शिर ठाडो भएको छ । ‘ठूलो मन भएको नेपाली खेलाडी !’–अष्ट्रेलियाको मिडियाले लेखेको छ ।

मंगलबार नै नेपालका बहालवाला मन्त्री अष्ट्रेलिया आए, भिजिट नेपालको उदघाटन गरे । तर त्यसको चर्चा न त अष्ट्रेलियनमाझ भयो न त अष्ट्रेलियन मिडियामा कतै देखियो, सुनियो या पढ्न पाइयो । यसमा हामी आयोजकको कमजोरी हो भनेर कसैले मान्न चाहेनन् तर स्वस्फुर्त सन्दिपले गरेको भिजिट नेपाल २०२० को चर्चाले पूरा अष्ट्रेलिया जानकार छ । यो हो नि सेलिब्रिटीको क्रेज, बजार र चर्चा ? मन्त्री अष्ट्रेलिया आउनु उपलब्धि कि सन्दिपका कारण भिजिट नेपाल २०२० को चर्चा हुनु उपलब्धि ?

यो पंक्तिकारले केही समय अगाडि अष्ट्रेलियामा भिजिट नेपाल २०२० को चर्चा नेपालीमाझ होइन विदेशीहरू माझ गर्नुपर्छ भनेर बारम्बार लेखेकै हो, तर यहाँ नेपाली–नेपालीहरू बीच चर्चा र हल्ला गरेर समय नष्ट गरियो ? यहाँका मिडिया र सेलिब्रेटीहरूलाई नेपाल लिएर जाउँ, नेपाल घुमेर आएपछि उनीहरूले अष्ट्रेलियाको मिडियामा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्दा भिजिट नेपालप्रति अष्ट्रेलियनहरूको ध्यान आकृष्ट हुन पुग्छ जस्ता कुरा धेरै भनियो, तर कतैबाट सुनुवाई भएन । किनकि यहँंको मिडिया र सेलिब्रिटीसँग आयोजककै पहुँच देखिएन । अब हामी हामी मात्र दङ्ग पर्ने कि केही नयाँ सोच्ने ? तपाईंहरूले वर्षौंदेखि गरेको तामझाम भन्दा त सन्दिपले एक घण्टामा देखाएको सिर्जनात्मक नौलो प्रचार नै प्रभावकारी देखिएन र ?