‘…डराउँछन् कि कसो, कसैले प्रेम प्रस्ताव राखेनन्’ : स्वर्णपदक विजेता अनु

‘…डराउँछन् कि कसो, कसैले प्रेम प्रस्ताव राखेनन्’ : स्वर्णपदक विजेता अनु


■ श्रीविक्रम भण्डारी

अनु अधिकारी…! यतिबेला खेलकुदमा उनको नामै काफी छ । उनको नाम त्यसै चर्चामा आएको होइन, उनले गरेको उत्कृष्ट अनि कीर्तिमानी प्रदर्शन यसको कारण हो । क्रिकेटको भाषामा भन्नुपर्दा आफ्ना प्रतिद्वन्द्वीलाई ‘गोल्डन डक आउट’ गर्दै स्वर्णपदक जितेपछि उनको चर्चा चुलिएको हो । अनुको यो पौरख अहिले नेपाली खेलकुदको इतिहासमा कोशेढुङ्गा नै बनेको छ । कल्पनासमेत गर्न नसकिने अनुको उत्कृष्ट प्रदर्शन आफैमा तारिफयोग्य छ, जसको जति प्रशंसा गरे पनि कमै हुन्छ, किनकि उनले कामै त्यस्तो गरेकी छिन् । अनुको उत्कृष्टताले अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको छ, मुलुकको शानलाई अन्तराष्ट्रमा चर्चाको विषय बनाएको छ । जो कराते खेलको मात्र नभै नेपाली खेलकुद र खेलाडीको लागि गौरवको विषय बनेको छ ।

त्यस्तो के कारनामा गरिन् त अनुले, प्रश्न उठ्नु स्वभाविकै हो । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने अनु मात्र त्यस्ती खेलाडी हुन् जसले आफ्ना दुवै खेलमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीलाई समान अन्तरले पराजित गरेकी थिइन्, त्यो पनि सून्यमा । आफ्नो पहिलो खेलमा बंगलादेशकी खेलाडीलाई ८–० ले पराजित गरेकी अनुले फाइनलमा पनि श्रीलंकाकी खेलाडीलाई ८–० ले पराजित गर्दै कीतिमानी स्वर्ण पदक जितेकी थिइन् । जुन अविश्वसनीय या अकल्पनीय नै थियो, किनकि फाइनलमा अनुको भीडन्त तीनपटककी दक्षिण एसियाली च्याम्पियनसिपकी च्याम्पियन श्रीलंकन खेलाडीसँग भएको थियो । त्यस्ती च्याम्पियन खेलाडीलाई पनि अनुले सून्यको अन्तरले पराजित गरेकी थिइन् । फाइनल खेल्न जानुअघि अन्य सहकर्मी खेलाडीले प्रतिद्वन्द्वी खेलाडीको बारेमा गरेको बढाइचढाइको चर्चा सुन्दा अनुले खुट्टा नकमाएकी पक्कै होइनन्, तर दृढ आत्मविश्वासका साथ उत्रिएकी अनुले चमत्कारिक क्षमता प्रदर्शन गर्दै उनको बढाइचढाइलाई सुन्यमा सीमित पार्दै स्वर्णपदक जितिन् । जुन अनुको खेल जीवनको अविष्मणीय क्षण बनेको छ ।

विगत १४ वर्षदेखि कराते खेल्दै आएकी अनु ९ वर्षदेखि निरन्तर रूपमा राष्ट्रिय टीमबाट प्रतिनिधित्व गर्दै आएकी छिन् । यो अवधिमा अनुले अन्तर्राष्ट्रिय स्तरमा जितेको सबैभन्दा ठूलो पदक यही स्वर्णपदक हो । यसभन्दा अघि उनले ११औँ सागमा रजत पदक जितेकी थिइन् । १३औँ सागमा स्वर्ण पदक जितेपछि अहिले अनु निकै खुशी छिन्, उनको खुशीले सिमा नाघेको छ, त्यो क्षण उनको लागि साँच्चिकै सम्झनायोग्य र अविष्मणीय बनेको छ । यसर्थमा कि उनले देखेका धेरै सपनामध्य एउटा सपना पूरा भएको छ । अनुकै शब्दमा भन्नुपर्दा ‘सबैथोक पाएजस्तो लाग्यो, आफूले आफैलाई बिर्सेजस्तै लाग्यो, यतिका वर्ष गरेको मेहनत, बगाएका पसिना, सुकाएको रगतको प्रतिफल र सबैको आशीर्वाद प्राप्त भएको जस्तो लाग्यो ।’

अनुलाई सबैले करातेको राम्रो खेलाडी भन्छन्, सबैले सम्भावित पदक विजेता खेलाडीको नाम उच्चारण गर्दा अनुको नाम सबैभन्दा पहिला लिन्छन् । अनु पनि आफ्नो मेहनतलाई कदर गर्दै आफूलाई राम्रै खेलाडीमा गणना गर्छिन् । तर दुर्भाग्य ! राम्रो खेलाडी हुँदाहुँदै र उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि जुन किसिमको सफलता अनुको भागमा पर्नुपर्ने थियो त्यो अहिलेसम्म पर्न सकेको छैन । यसमा अनु आफ्नो ‘ब्याडलक’ मान्छिन् । अन्यथा बंगलादेशमा सम्पन्न ११औँ सागको फाइनलमा पुगेर उत्कृष्ट प्रदर्शन गर्दा पनि रजत पदकमै कदापि चित्त बुझाउनु पर्ने थिएन । त्यस्तै गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा दुईवटा खेल जितेर पनि पदकविहीन बन्नुपर्ने थिएन । अन्य खेलाडीले एउटा खेल जित्दासमेत पदक जिते, मैले दुईवटा खेल जितेर पनि पदक जित्न सकेन, योभन्दा ब्याडलक अरु के हुनसक्छ ? प्रतिप्रश्न गरिन् अनुले । तर १३औँ सागमा ‘ब्याडलक’लाई चिर्दै अनुले स्वर्ण पदक जित्न सफल भए पनि खेलकुदमा अबका दिन कस्तो रहलान् त्यसमा उनी ढुक्क हुन सकेकी छैनन् ।

यतिबेला एमबीएसमा मास्टर्स गर्दैछिन् अनु । अन्तिम वर्ष भएकोले तयारी पनि सोही किसिमको छ । जसरी पनि मास्टर्समा उत्तीर्ण गरेर भविष्य उज्ज्वल बनाउने ध्याउन्नमा छिन् उनी । नेपाली खेलकुदको अवस्था यही हो, यहाँ भविष्यको लागि ढुक्क हुने अवस्था छैन । यथार्थमा भन्नुपर्दा खेल्दासम्म मात्र हो, त्यसपछि खेलकुदमा कसैले कसैको वास्ता गर्दैनन्, बढो दयनीय अवस्था छ खेलकुदको । अन्यथा एसियन गेम, साग गेममा पदक जित्ने प्रतिभाशाली खेलाडी कदापि विदेश पलायन हुने थिएनन्– अनुले भनिन् । अहिले सक्रिय खेलकुद मेरोलागि नसाजस्तै भैसक्यो, म खेलकुदविना अन्य कुरा सोच्नै सक्तैन, तर मेरो मन पीडा र वास्तविकता कसले बुझिदिने प्रश्न थियो अनुको ? ‘डेढदशक खेलकुदमा बिताएँ, राष्ट्रको झण्डा अन्तराष्ट्रमा उँचो पार्ने कार्य गरे, तर खेलकुदमा मेरो भविष्य खै त ? भोलि मैले सक्रिय खेलकुद छोडेपछि कहाँ जाने, के गर्ने कुनै टुङ्गो छैन अनुको गुनासो थियो । राज्य र सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले ‘खेलाडी राष्ट्रका गहना हुन्’ भने पनि त्यो अहिलेसम्म व्यवहारमा लागु हुन सकेको छैन । त्यसैले होला खेलाडी आफ्नो भविष्य सुनिश्चित गर्न विदेश पलायन भएका । केही वर्षपछि मेरो पनि त्यही हालत हुनेछ, त्यसपछि मैले के गर्ने, मेरो भविष्यको जिम्मेवारी कसले लिने त्यो मेरो चिन्ताको विषय हो’, अनुले भनिन् ।

अहिले राज्यले १३औँ सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । यो राम्रो कुरा हो, यसले खेलाडीलाई केही राहत पक्कै हुन्छ । तर नगद पुरस्कारप्रति मेरो धारणा बेग्लै छ– ‘राज्यले स्वर्ण पदक जित्नेलाई ९ लाख रुपैयाँ दिनुभन्दा जागिरको ब्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो । किनकि ९ लाख भनेको क्षणिक मात्रै हो, जागिर आजीवन हुन्थ्यो भन्ने अनुको धारणा छ । अहिले दीपक विष्ट, संगीना बैद्य, दीपक श्रेष्ठ लगायतका खेलाडी खेलकुदमा टीकेको भनेको जागिरले नै हो । यदि उनीहरूलाई राखेपले जागिर नदिएको भए उनीहरू पनि उहिल्यै विदेश पलायन भैसक्थे, यथार्थ यही हो । तसर्थ यतिबेला राज्यले खेलाडीको लागि सोच्नुपर्ने बेला भएको छ, अन्यथा उनीहरूलाई विदेश पलायन हुनबाट कसैले रोक्न सक्ने छैन । मैले खेलकुदको यस्तो वास्तविकता बुझेर नै पढाईलाई पनि सँगसँगै लगेकी हुँ । पढाई सकिएपछि बैङ्किङ क्षेत्रमा काम गर्ने चाहना छ । यदि त्यो पूरा भयो भने ठिकै छ, अन्यथा मेलै पनि वैकल्पिक बाटो रोज्न बाध्य हुनेछु– अनुको कथन थियो ।

यसै वर्ष जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा कराते खेललाई पनि समावेस गरिएको छ । कराते खेललाई ओलम्पिकमा समावेस गरिएको यो पहिलो अवसर हो । १३औँ सागमा उत्कृष्ट प्रदर्शन गरेका कारण अनुले पनि ओलम्पिक छनोट चरण खेल्नेका लागि छात्रावृत्ति पाएकी छिन् । अहिले यसैको तयारीमा जुटेकी छिन् अनु । विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छनोट चरणमा आफूले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुको दाबी छ । तर, सम्बन्धित निकायले तयारीको लागि कस्तो व्यवस्था गर्छ त्यसैमा भर परेकी छिन् अनु । राम्रो तयारी भयो भने राम्रोे प्रदर्शन गर्न सकिन्छ, अन्यथा ओलम्पिक छनोट चरण आफ्नो लागि अनुभव बटुल्ने पाटोमा सीमित रहनेछ । ओलम्पिक छनोट चरण पार गरेर अहिलेसम्म तेक्वान्दोका दुईजना खेलाडी दीपक विष्ट र संगीना वैद्यले मात्र ओेलम्पिकमा प्रतिस्पर्धा गरेको नेपाली खेलकुदको इतिहास छ । यस्तोमा ‘वाइल्ड कार्ड’ मात्रै नेपाली खेलाडीको लागि ओलम्पिक पुग्ने साहारा हो भन्दा अतिशयोक्ति नहोला ।

१३औँ सागमा स्वर्णपदक जितेपछि नगदसहित सम्मानको ओहिरो लागेको छ भन्दा अनुले नराम्रोसँग नाक खुम्चाइन् र भनिन्– ‘हो कसैको लागि ओहिरो नै लागेको छ भने कसैलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । रिलेशन र पहुँच भएका कास्यपदक जित्नेलाई पनि नगद र सम्मान थाप्न धौ–धौ भएको छ । तर जसले स्वर्ण पदक जितेको छ रिलेशन र पहुँच छैन त्यसले टुलुटुलु हेरेर बस्नुपरेको छ । यस्तो पनि हुन्छ कहीँ, तर यस्तै भैरहेको छ, सत्य यही हो ।’ मैले पनि स्वर्ण पदक जितेकी छु, खै त मैले अहिलेसम्म कुनै संघ–संस्था, ब्यापारी, उद्योगपतिबाट कुनै सम्मान पाएको छैन । नगदको कुरा गर्दा राज्यले घोषणा गरेकोबाहेक अहिलेसम्म सुकोसमेत पाएको छैन । हो केही संस्थाले भने अवश्य सम्मान गरेका छन् त्यसैमा चित्त बुझाएको छु । योपटक धेरै खेलाडीले स्वर्ण पदक जितेकाले पनि यस्तो भएको हुनसक्छ, तर आफूनिकट सम्बन्धित निकायले समेत अहिलेसम्म त्यस्तो सम्मानको कुनै कार्यक्रम समेत गरेका छैनन्, यसमा मेरो ठूलो दुःखेसो छ । जे–जस्तो भए पनि खेलाडीको हौसला बढाउन कार्यक्रम गर्नुपथ्र्यो । यतिबेला प्रदेश, जिल्ला, संघ, डोजो, क्लब, टोल र आबद्ध सम्बन्धित निकायले सम्मानको लागि सोच्नुपर्ने थियो, अहिलेसम्म त्यस्तो हुन सकेको छैन । जुन सम्पूर्ण खेलाडीको लागि पीडाको विषय बनेको छ । केही प्रदेश र जिल्लाले खेलाडीहरूलाई सम्मान गरे पनि थुप्रै ठाउँका खेलाडी अहिले पनि सम्मानित हुन सकेका छैनन् ।

उमेरलाई मध्यनजर गर्दा अनु अहिले विवाहका लागि योग्य भैसेकेकी छिन् । त्यसैले अहिले उनलाई अभिभावकहरूले विवाहको लागि दबाब दिन थालेका छन् । सवथोक बेलैमै गर्दा राम्रो हुने अभिभावकहरूको राय छ । अभिभावकको कुराप्रति अुन पनि पोजेटिभ छिन् तर केही वर्ष अझै खेलकुदमा रमाउने उनको धोको छ । ओलम्पिक छनोट, दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुद खेल्ने रहर अझै बाँकी छ । यस्तोमा चार वर्ष खेलकुदमै रमाउने अनुको रहर छ । अनुको खेलकुदमा चार वर्ष अझै खेल्ने रहर भए पनि उनको शरिरले उनलाई कति साथ दिन्छ त्यो भविष्यको हातमा छ ।

घरवाट विवाहको लागि दबाव आउँदा र अनुले दुई चार वर्ष अँझै खेल्ने चाहना व्यक्त गर्नुको पछाडि कुनै रहस्य त लुकेको छैन भन्ने प्रश्नमा अनुले भनिन्– ‘त्यस्तो केही छैन, खेल्दै ठीक भोे, यताउता सोच्ने फुर्सद नै भएन ।’ कसैले प्रेम प्रस्ताव राखेन ? कोही त मन प¥यो होला नि ? उनले हाँस्दै भनिन्– ‘ त्यस्तो अनुभव म पनि बटुल्न चाहन्थेँ, चाहना पनि थियो, खै मलाई त कसैले प्रेम प्रस्ताव नै राखेन, किन होला !? कराते खेलाडी भएकोले डराएर प्रेम प्रस्ताव नराखेका हुन् कि ?…’ यसरी अहिलेसम्म आफ्नो कुनै केटा साथी नभएकोर अब नबनाउने पनि अनुले खुलासा गरिन् । ‘मेरो विवाह जहिले हुन्छ, एरेन्ज म्यारिज नै हुन्छ, र त्यो घर परिवारले नै तय गर्छ । मेरो लागि उहाँहरूले जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’