उद्योग मन्त्रालयको भूमिगत कार्यालय !

उद्योग मन्त्रालयको भूमिगत कार्यालय !


माओवादी पृष्ठभूमिका भएर पनि अत्यन्त सत्जन र भद्र मानिने नेता लेखराज भट्टले उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्हाल्नुभएपछि उहाँको भद्रपनको फाइदा उठाउँदै एक व्यक्तिले काठमाडौंको ल्याण्डमार्क होटलबाट मन्त्रालयको काम ‘सञ्चालन’ गरिरहेको जानकारी प्राप्त हुन आएको छ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलबाट उद्योग मन्त्रालयको काम गर्ने इलामका प्रकाश ढकाल नामक व्यक्ति भएको बुझिएको छ ।

ढकाल पहिले गणेशमान पुन आपूर्तिमन्त्री हुँदा पुनको पिएका रूपमा काम गर्थे । त्यसबेला नेपालका ठूला उद्यमी तथा व्यापारीहरूसँग राम्रो हिमचिम बनाएका उनले लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री भएपछि ल्याण्डमार्क होटलमै बसेर मन्त्रालयका ‘अनौपचारिक काम’ गर्न थालेका हुन् । ढकालले सुवास सङ्घइदेखि मनोज गोयललगायतका व्यापारीहरूलाई होटलमा बोलाएर ‘डील’ गर्ने गरेका छन् भने पछिल्लो समयमा त्यहाँ उद्योग मन्त्रालयको सचिवसम्म कर्मचारीहरूको आउजाउ हुन थालेको देखिएको छ ।

एक समयका मन्त्री गणेशमान पुन ढकालको वरिपरि घुमिरहन्छन् र नचिन्नेहरूले उनी ढकालको ‘बडीगार्ड’ भएको ठान्दछन् । प्रकाश ढकालले व्यापारीहरूसँग ‘आफैले लेखराजजीलाई केटीकाण्डबाट जोगाइदिएको हुनाले जे भन्यो त्यही गर्ने स्थितिमा रहेको भनी प्रभाव पार्ने गरेको सम्बद्ध व्यापारीको भनाई छ ।

गणेशमान पुन आपूर्तिमन्त्री हुँदा निजी क्षेत्रलाई इन्धन आयातको लाइसेन्स दिने निर्णय गराउँदै दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ उठाएको चर्चा चलेको थियो । यिनै ढकालले करोडौँ रुपैयाँ लिएर जथाभावी लाइसेन्स वितरण गरेको सूचना पाएपछि सुशील कोइराला हटेर केपी ओली र प्रधानमन्त्री बनेलगत्तै सरकारले सबै लाइसेन्स रद्द गरिदिएको थियो । ढकालले व्यापारीहरूबाट उठाएको रकम अझै फिर्ता गरिसकेका छैनन् । मन्त्री लेखराज भट्टबाट काम मिलाइदिएर रकम कट्टी गर्ने योजनाअनुसार ढकालले व्यापारीहरूसँग कुरा मिलाएका छन् । कुनै राम्रो पृष्ठभूमि नभएका ढकालले आयल निगममा कति प्रभाव पारेका छन् भने आफ्नो घरमा काम गर्न राखेकी एक युवतीको तलब–भत्तासमेत निगमबाट बुझ्ने व्यवस्था मिलाइएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार सूर्य ढुङ्गेलसमेत यी ढकालबाट ठगिएको र उनले अहिलेसम्म फसेको दुई करोड रुपैयाँ उठाउन नसकेको बताइन्छ । जे होस्, अहिले ल्याण्डमार्क होटलबाट समानान्तर उद्योग मन्त्रालय चलाइरहेका ढकालका क्रियाकलापप्रति लेखराज समयमै सचेत हुन सक्नुभएन भने यसबाट भट्टको करियरमै ठूलो धक्का पुग्नसक्ने देखिएको छ ।