अष्ट्रियन इतिहासकै युवा सरकारप्रमुख फेरि बने चान्सलर

अष्ट्रियन इतिहासकै युवा सरकारप्रमुख फेरि बने चान्सलर


■ Sagar Subedi, Austria

गत वर्ष विश्वकै युवा अष्ट्रियन सरकारप्रमुख ‘चान्सलर’ (अष्ट्रिया र जर्मनीमा प्रधानमन्त्रीले गर्ने कार्यकारी पदलाई चान्सलर भनिन्छ) सिवाष्टियन कुर्जले अष्ट्रियन संसदमा विश्वासको मत गुमाएपछि बाध्यात्मक रुपमा सरकारबाट हात धुँदै मध्यावधि निर्वाचनको घोषणा गर्नुपरेको थियो । कारण थियो- उनको पार्टीसँग मिलिजुली सरकार गठन गरेको अर्को दल अष्ट्रियन फ्रीडम पार्टीका प्रमुख हेनिज क्रिस्टियन स्ट्राखे एक गोप्य रुपमा खिचिएको भिडियोमा गैरसंवैधानिक तवरले ब्यक्त गरिएका विषयहरुका साथै ती विषय बाहिर आएलगत्तै उनले नैतिकताका आधारमा दिएको राजीनामा तथा राजनीतिक सन्याससँगै अष्ट्रियन पिपल्स पार्टीको तर्फबाट चान्सलर बनेका सिबास्टियन कुर्ज नेतृत्वको सरकार ढलेको थियो । तथापि, कुर्जलाई संसदमा विश्वासको मत परीक्षण गर्ने मौका दिइएको थियो । जब कुर्ज नेतृत्वको सरकार ढल्यो तब अष्ट्रियन राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेनले संवैधानिक अदालतका प्रधानन्यायाधीश ब्रिगिटे बियलेइनलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्दै सरकार निर्माण गरेर तोकिएको मितिभित्रै निर्वाचन गराई अर्को सरकार गठन नभइञ्जेलसम्मका लागि आफ्नो संवैधानिक कर्तव्य निभाउन आदेश दिएका थिए ।

अष्ट्रियामा गत वर्ष भएको आमनिर्वाचनमा सिबाष्टियन कुर्जको अष्ट्रियन पिलल्स पार्टीले अघिल्लोपटक भन्दा केही बढी प्रतिशत मत ल्याउँदै निर्वाचनमा पहिलो पार्टी बन्यो, तर सरकार गठन गर्न आवश्यक ५० प्रतिशत मतचाहिँ ल्याउन सकेन । त्यसैले निर्वाचन भएको पहिलो हप्तादेखि सुरु गरेर चौथो महिनासम्म अर्को पार्टी अष्ट्रियन हरियाली पार्टी (ग्रीन)सँग मिलेर सरकार बनाउनका निमित्त गृहकार्य गऱ्यो । सरकार निर्माणकै लागि विभिन्न तवरले फरक फरक व्यक्तिको नेतृत्वमा वार्ता टोलीहरु गठन गरिनुका साथै ती टोलिनेताहरुलाई फरक फरक जिम्मेवारी दिइयो । विभिन्न चरणका औपचारिक छलफलहरुलाई अन्तिम रुप दिँदै अघिल्लो हप्ता ग्रिन पार्टी र पिपल्स पार्टीले औपचारिक रुपमा सरकार गठन गर्ने अनि पिपल्स पार्टीले चान्सलर, गृह, रक्षा, अर्थ साथै ग्रिन पार्टीले उपचान्सलर, कानुन, वातावरणलगायतका मन्त्रालयहरु लिई आगामी पाँच वर्षको लागि संयुक्त सरकार निर्माण गर्ने घोषणा गरेका थिए। सोही निर्णयलाई आज (७ जनवरी) अष्ट्रियन राष्ट्रपतिले औपचारिकता दिँदै सरकारमा सम्मलित व्यक्तिहरुलाई सपथ गराउनुभएको थियो । औपचारिक रुपमा फेरि अष्ट्रियन पिपल्स पार्टीका प्रमुख सिबाष्टियन कुर्जको नेतृत्वमा सरकार गठन भएसँगै अष्ट्रियाले आजबाट नयाँ निर्वाचित सरकार पाएको छ।

Photo:APA

को हुन् सिबाष्टियन कुर्ज ?

इन्जिनर बाबु तथा एक हाई स्कुल शिक्षिकाका छोरा कुर्ज भियनाकै वासिन्दा हुन् भने उनले बाह्र कक्षासम्म पास गरेका छन् । उनका बाबु अझै पनि कुनै बेल्जियमको कम्पनीमा काम गर्दछन् भने आमाले अझैसम्म भियनाकै २३ नम्बर जिल्लाको कुनै हाई स्कुलमा पढाइरहेकी छन् । कुनै एकेडेमिक डिग्री नभएता पनि उनी २६ वर्षकै उमेरमा अष्ट्रियन State Sec. For Integration बनेका थिए भने त्यसको दुइ वर्षपछि उनलाई पार्टीबाट अष्ट्रियन परराष्ट्रमन्त्री बनाइएको थियो । अत्यन्त चलाख युवा चान्सलर कुर्जलाई विरोधिहरुले जस्तो आरोप लगाए पनि उनि आफ्नो राजनीतिक करियरमा एक सफल युवा राजनीतिज्ञ देखिएका छन् ।

नयाँ सरकारसँगै अष्ट्रियन ग्रिन पार्टीले पुनः रच्यो इतिहास

सामान्यता ग्रिन पार्टी विश्वको बदलिँदो वातावरण तथा यसले मानव जीवनमा पार्ने असरबारे जनमानसमा पुऱ्याउँदै आएको छ । आगामी पुस्ताको लागि पनि पृथ्वी आवश्यक हुन्छ भन्ने नारा दिँदै राजनीतिमा होमिएको समूह हो यो । हुन त यो पार्टीको आफ्नै संघर्षहरु छन्, तथापि अघिल्लो राष्ट्रपति निर्वाचनमा ग्रिन पार्टीका पूर्वप्रमुख आलेक्सान्द्रा भान देर बालेनले राष्ट्रपति निर्वाचन जितेर अष्ट्रियन इतिहासमा सुनौलो नाम लेखाएका थिए भने आज सोही पार्टीले अष्ट्रियन इतिहासमै प्रथम पटक आफुलाई उपचान्सलरसँगै सिङ्गो पार्टी केन्द्रिय सरकारमा गएको छ । अझ रोचक त के छ भने ग्रिन पार्टीबाट अष्ट्रियामा चान्सलर, गृहमन्त्रालयपछि सबैभन्दा महत्वपूर्ण मानिने कानुन मन्त्रालयको जिम्मेवारी दुई वर्षको उमेरमा एक शरणार्थीको रुपमा अष्ट्रिया प्रवेश गरेकी अल्मा जादिकले पाएकी छन् ।