अवोध अंकुरणको परिणाम

अवोध अंकुरणको परिणाम


■ आचार्य प्रभा 

एक दाम्पत्य जीवन टुक्रिँदा
लाग्छ– उनीहरूको प्रेमःमा
पलाउँदै गरेको अंकुरणमा नै
‘लाई’ लाग्न सक्छ
जो उनीहरूको मिठो प्रेमको
प्रतिविम्व बनेर हुर्किइरहेको हुन्छ,
त्यो कलिलो अंकुरणले
आफ्नो मस्तिष्कमा बुद्धिको पाउलो
फेर्न नपाउँदै
असरल्ल भुमरीको सामना गर्न
बाध्य बन्नुपर्छ,
त्यसैले… बैंशको उर्लिंदो भेल
अनि अन्धो प्रेमको आवेशमा
कलिलो मुनाले भोग्नुपर्छ
आफ्नै छहारीमा आएको आँधी–हुरीको सामना ।
हो, प्रेम दुई मुटुको माया मात्र होइन
यो सम्बन्धको कसी मात्र पनि होइन
जब साथै जिउने, साथै मर्ने बाचाको साथमा
दुई मुटु एक प्राण हुन्छ भने
र… दुई शरीर एक आत्मा बन्छ भने
त्यसको प्रतिफल पक्कै त्यही बीचमा
नयाँ अंकुरण त टुसाउँछ नै
हो, त्यो नयाँ जीवन लिएर टुसाउँदै गरेको
अंकुरण नै सफल प्रेमको चिन्ह हो
तर… अपसोच !
यात्राहरू बीचमा कतै आँधीबेरी आउन सक्छ
सुनामी र भुकम्पले तहसनहस गर्न सक्छ
यद्यपि त्यो युगल जोडीले धर्मराउनु हुन्न
आफ्नो यात्रामा डग्मगाउनु हुन्न
कहीँ ती पाइलाहरू डग्मगाए भने
त्यो अंकुरण फुल्न नपाई झर्न सक्छ
लुछिन सक्छ,
दह्रिलो सहाराको अभावमा
आत्मविश्वास गुम्न सक्छ
र जब कोपिलामा परिभाषित हुन थाल्छ
उसलार्ई फुल्न–फल्न अगावै
निरशताको छालले भिजाउन थाल्छ
त्यसैले… सोचौँ
दुई यौवनको मेल मात्र जीवन होइन
त्यही मेलको स्वच्छ उपहार नै
प्रेमको सफल परिणाम हो
अमरत्वको चिन्ह हो
जसलार्ई ती दाम्पत्य जोडीले
हजारौँ संघर्ष र पीडामा पनि
सुरक्षित राख्न सक्नु पर्दछ
उसको आगमनलार्ई निश्छल प्रेमले
लुट्पुट्याउन सक्नुपर्छ ।

  • अमेरिका