मान्छे देख्यो कि उम्लने पोखरी

मान्छे देख्यो कि उम्लने पोखरी


सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसको शिरमा तथा सुन्दर गौरीशङ्कर हिमालयको काखमा मानिस आएको सुइँको पाउना साथ हल्लीखल्ली गर्दै उम्लने एउटा पोखरी तीर्थस्थलका रूपमा लोकप्रिय छ । स्थानीय मानिस यसलाई बहुलापोखरी भन्छन् । अघिपछि शान्त रहने यो पोखरी मानिसलाई देखेपछि मात्र वल्लोपाखा र पल्लो पाखा हुँदै उम्लिएको दृश्य र आवाजले सबैको मन लोभ्याउने गर्दछ । बहुलापोखरीको तीर्थयात्रा गरी फर्कने हरेक यात्रुहरूले यस पोखरीलाई रोचक एवम् अनौठो पोखरी भएको बताउने गर्छन् । कसै–कसैले यस पोखरीभित्र अजिङ्गर हुनुपर्छ भन्ने अड्कल गर्ने गरेको पाइन्छ तापनि यस पोखरीको वरिपरिबाट धार्मिक आस्थाका लागि यहाँ दर्शन गर्न आउने मानिस यसको विचित्र लीला देखेर भगवान्को जिउँदो लीला (उपज) भएको बताउँछन् ।

करिब पच्चीस हजार फिटको उचाइमा रहेको उल्लिखित तीर्थस्थलमा प्रत्येक वर्षको भाद्र पूर्णिमामा ठूलो मेलासमेत लाग्ने गर्दछ । त्यसो त यस बहुलापोखरीको वरिपरि नै अरू तीनवटा पोखरी रहेका छन् र सबै पोखरीलाई स्थानीय मानिस तीर्थस्थल नै मान्दछन् । पानी नै छैन कि जस्तो आभास दिलाउने भैरवकुण्डको कञ्चन पानी, दूधझैँ सेतो न सेतो पानी भएको दूधपोखरीको मनमोहक दृश्य र खरानी रंगको पानी देखिने खरानी पोखरीको मौलिक विशेषताले बहुलापोखरीको विशेषतालाई झनै विस्तार गरेको देखिन्छ ।

प्रत्येक वर्ष भाद्र पूर्णिमाको दिन मेला लाग्ने बहुलापोखरी तीर्थमा विभिन्न स्थानबाट भक्तजनहरू बाजागाजा बजाउँदै, झाँक्री नाच देखाउँदै र भजन गाउँदै जाने चलन छ र त्यहाँ पुगेपछि स्नान गरी पूजाआजा सम्पन्न गरेर आ–आफ्नो लक्ष्य पुकार्दै सुनाउने झनै रमाइलो चलन छ । स्थानीय जनमानसमा अत्यन्त लोकप्रिय रहेको यस बहुलापोखरी तीर्थको दर्शन गर्न यस वर्षको भाद्रपूर्णिमा (आगामी १२ गते) आउनुपूर्व नै चहलपहल शुरु भइसकेको छ । यस वर्ष भाद्रपूर्णिमामा बहुलापोखरीको दर्शन गर्न फुलिकोट, हगाम, बतासे, बराम्ची, गोल्चे, पाङतान र गुम्बा गाविसबाट भदौ ९ गतेदेखि नै तीर्थयात्रीहरू त्यसतर्फ नाचगानसहित यात्रारम्भ गर्ने भएका छन् ।

वास्तवमा बहुलापोखरी धार्मिक दृष्टिले, दर्शनका दृष्टिले र मनोरम प्रकृतिको सौन्दर्यपान गर्ने दृष्टिले मात्र नभई अनुसन्धानको विषयवस्तुसमेत बनेको देखिन्छ । सम्बन्धित निकायबाट यस्ता स्थानको समयमै खोज, अनुसन्धान रेखदेख एवम् संरक्षण हुन सके विभिन्न दृष्टिले उपयोगी हुने देखिन्छ । – डेम्लिङ लामा

(२०५३ भदौ ५ गते बुधबार घटना र विचार साप्ताहिक)