नुनिलो चिनी

नुनिलो चिनी


■ अर्जुनराज पन्त

उखु पेली मेसिनमा चिनी बन्थ्यो पहिले
किसानसमेत पेलिकन बन्दो रै’छ अहिले !

त्यस्तो खालको चिनी आज छ त बजारभरि
ब्यापारीले बेचेका छन् नाफा गरि-गरि

ऋण गरेर उखु ला’छ न त केही पा’छ
त्यही उखुको पैसो माग्न अर्को ऋण पनि ला’छ !

मिलमै ल्याउँछ्न् बेच्न बरा खेतमा जान्न किन्न
चिनी बेच्छ मिलवालाले उखुको मोल दिन्न !

कस्तो हुँदोे हो देख्दा तिनलाई आज त्यही चिनी
उधारो नि दिन्नन् तिनलाई केले खानु किनी ?

श्राप दिए कि किसानले नपाउँदामा भोग
त्यही भएर लाग्छ कि खै खाँदा सुगर रोग ?

गाउँ, प्रदेश, केन्द्र अरे सरकार जताततै
न्याय खोज्दै रुँदै हिँडे पाएनन् नि कतै !

मधेशका लागि भन्ने च्याउसरि नेता
कुर्सी पाए पुगिहाल्छ जान्न नजर त्यता !

न छ त्यहाँ जीवनको न उखुको मूल्य
जिँउदो शरिर पनि जले बनि दाउरा तुल्य !

सर्वहारा शासन सत्ता कृषिप्रधान देशमा
मरेका छन् किसान कठै यति साना केसमा !

सरकारमा बसि खा’छौ त्यो उखुको चिनी
गुलियो कि नुनिलो छ जिब्रै टट्याइ दिनी !

न्याय माग्न राजधानीमा आउँदा कठै आज
नातागतले ढल्दा त्यही सडकको माझ

दिँदाखेरि पिउन उसलाई आज चिनी पानी
हेर्यो मात्रै इन्कार गऱ्यो आफ्नै आँशु ठानी !