‘भ्रमण वर्ष’ सफल बनाउन सबै प्रवासी नेपालीको सहयोग आवश्यक छ

‘भ्रमण वर्ष’ सफल बनाउन सबै प्रवासी नेपालीको सहयोग आवश्यक छ


नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन भइसकेको छ । सरकारको अपेक्षा पनि आगामी एक बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने छ । सरकारको यो अभियान र लक्ष्यमा प्रवासी नेपालीको भूमिका, पर्यटन पूर्वाधार, नेपाल सरकारको नीति र लगानाीको अवस्थाबारे पोर्तुगलका लागि पर्यटन दूत रमेश गुरुङसँग संचारकर्मी छविलाल बगालेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 0 हिजोआज के गर्दै हुनुहुन्छ ?
– यतिबेला म भ्रमण वर्ष २०२० को प्रचारमा तल्लिन छु । किनभने नेपाल सरकारले भ्रमण बर्ष २०२० लाई भब्य रुपमा मनाउन लागेको छ । म पोर्तुगलका लागि पर्यटन दुत भएकोले भ्रमण बर्ष २०२० लाई सफल बनाउन पोर्तुगलमा भ्रमण बर्षको लोगो अंकित स्टिकर बाँड्दै यहाँका जनतालाई नेपालको पर्यटनको बारेमा जानकारी गराइरहेको छु ।

0 तपाई त व्यवसायी । भ्रमण बर्षको प्रचारका लागि कसरी समय मिलाउनुभएको छ ?
– मेरो प्रमुख काम त व्यवसाय नै गर्नु हो । व्यवसायमै तल्लिन छु । पोर्तुगलमा मेरो रेष्टुरेन्ट छ । तर म पर्यटन दुत भएपछि नै यहाँका नागरिकदेखि नेपाली समुदायमा नेपालको पर्यटन विकासका बारेमा जानकारी गराइरहेको छु । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य बोक्दा पोर्तुगलले पनि लक्ष्यमा योगदान पुर्‍याउँछ ।

0 यहाँ त प्रवासी नेपाली । पोर्चुगल आउनुभएको कति भयो ?
– ‘प्रवासी’  भनेर हामीलाई हेर्ने दृष्टिकोण अलि फरक छ । हामीलाई पनि नेपालप्रतिको माया त छ नी । स्वदेशमा बस्नेहरुलाई नेपालप्रतिको माया जति छ त्यती नै हामी प्रवासमा बस्नेलाई पनि माया छ । म पोर्तुगल आएको २० वर्ष भयो । यो बिचमा विभिन्न संघसंस्थामा बसेर नेपाल र नेपालीकै हितमा काम गर्दै आएको छु ।

0 पर्यटन दूतको रुपमा बसेर काम गर्नुभयो । नेपालको पर्यटन विकासलाई कसरी नियाल्नुभएको छ ?
– म पर्यटन दूत भएर काम गर्दा धेरै अनुभव बटुलेको छु । नेपालको पर्यटन क्षेत्र निकै संभावना बोकेको क्षेत्र हो । तर जुन गतिमा विकास हुनुपर्ने हो त्यो भने भएको छैन । हामीसँग हिमाल छ । नदिनालादेखि हरिया बनजंगल छन् । जतासुकै ताल तलैया छन् । मन्दिरै मन्दिरको उपमा पाएको छ । तर पुर्बाधार विकासमा भएको ढिलासुस्ती, सरकारको दुरगामी कार्ययोजना, राजनैतिक खिचातानी र विनियोजित बजेटको सही सदुपयोग नभएकै कारण सबै क्षेत्रमा अन्योलता पैदा भएको हो । अहिले बलियो सरकार छ । सरकारले पर्यटन विकासका योजना अघि सारेपनि सोचे अनुसारको सफलता भने हात पार्न सकेको छैन् । पर्यटन क्षेत्रमा पर्याप्त लगानी हुन सकेको छैन । यो क्षेत्र भनेको १ रुपैयाँ खर्च गरेर ६० रुपैयाँसम्म आम्दानी गर्न सकिने सम्भावना भएको क्षेत्र हो । तर यसप्रति हाम्रो ध्यान कहिल्यै गएको छैन ।

0 नेपालमा विद्यमान पर्यटन विकासको मोडेलप्रति यहाँको धारणा के छ ?
– यहाँले सही प्रश्न गर्नुभयो । हामी सधैं पर्यटन नै नेपालको मेरुदण्ड भनेर भाषण गर्छौं । तर हामी पर्यटन विकासको नयाँ स्वरुप र नयाँ योजना अघि सार्दैनौं । नेपाल सरकार पूरानो कार्ययोजना र पूरानै शैलीमै अल्मलिएको छ । जवसम्म नयाँ योजना अघि बढ्दैनन् तवसम्म पर्यटन विकासले छलाङ मार्न सक्दैन् । अहिले हामीले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटकको लक्ष्य लिएका छौं । हामी किन २० लाख मात्रै भनिरहेका छौं ? हामी किन १ करोड पर्यटक भित्र्याउने कुरा गर्दैर्नौं ? प्रश्न यहीँनेर छ । त्यसैले म पटकपटक भन्ने गर्छु नेपाल प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण भएपनि हामीसँग पूर्बाधार विकास अत्यन्तै कमजोर छ । जुन हामीसँग विद्यमान पर्यटनको मोडल छ त्यसलाई परिष्कृत गर्न सक्नुपर्छ ।

0 पोर्तुगल र नेपालको पर्यटन विकासमा के भिन्नता पाउनुभयो ?
– पोर्तुगल र नेपालको पर्यटन विकासमा धेरै भिन्नता पाउन सकिन्छ । यहाँको पर्यटन विकासमा सरकारले कुनै कसर बाँकी राखेको छैन । तर नेपालमा पर्यटकले हेर्नलायक धेरै ठाउँ भएपनि त्यसको सही उपयोग भने हुन सकेन् । अर्को कुरा पोर्तुगलमा पर्यटकका लागि सुरक्षा छ । तर नेपालमा बाह्य पर्यटकका लागि सुरक्षाको अभाव छ । पर्यटनबाट यथोचित विकास गर्नका लागि नेपाल सरकारले पर्यटन पुर्बाधार र पर्यटकका लागि आवश्यक सुरक्षाका प्रत्याभुति दिलाउनुपर्छ ।

0 यतिबेला नेपाल पर्यटन बर्ष २०२० मनाउने तयारीमा छ । यहाँको योगदान के रहन्छ ?
– म पर्यटन दूत भएकोले नेपाल सरकारको योजनामा मैले सकेको योगदान दिनुपर्छ र दिएको पनि छु । २० लाख पर्यटकको लक्ष्य सरकारले राख्दा पोर्तुगलबाट पनि हामीले २० देखि ३० हजार पर्यटक नेपाल पठाउने लक्ष्यका साथ काम गरिरहेका छौं । अहिले पोर्तुगलमा २५ देखि ३० हजारको संख्यामा नेपाली समुदाय बसोबास गर्छन् । यहाँ बस्ने नेपालीसँग कुनै न कुनै रुपमा पोर्तुगिजहरुको चिनजान भएकोले एक नेपाली एक पर्यटक नेपाल पठाउने गरी अभियान अघि बढाएको छु ।

0 पोर्तुगलबाट बार्षिक कति पर्यटक नेपाल जाने गरेका छन् ? केही तथ्यांक छ ?
– अवश्य पनि छ । विगतदेखि नै यूरोपियन मुलुक पोर्तुगलबाट पर्यटकहरु नेपाल घुम्न जाने गरेका छन् । नेपाल घुम्न जाने पर्यटकहरुको संख्या सन्तोषजनक नभएपनि उनिहरुको थोरै उपस्थितीले नेपाललाई चिनाएको छ । तथ्यांकगत रुपमा हेर्दा बर्षेनी पोर्तुगलबाट बार्षिक रुपमा एकहजार ५ सयदेखि २ हजार पर्यटक नेपाल भ्रमणमा निस्किएका छौं । अहिले भएको नेपालको प्रचारले यो संख्या अझ बढ्ने विश्वास छ ।

0 पर्यटन दूत हुँदै गर्दा नेपालको पर्यटन विकासमा यहाँको योगदान त पक्कै छ । त्यस्ता केही काम गर्नुभयो ?
– पक्कै पनि धेरै काम भएका छन् । हामी नेपालीको रुपमा प्रवासमा रहँदा हाम्रा कला संस्कृति, भाषा, खानपिन आदिलाई लोप हुन दिएका छैनौं । कुनै न कुनै रुपले हामीले हाम्रा संस्कृतिलाई सम्मान गरेका छौं । यहाँका विभिन्न संघसंस्था र नेपाली समुदायको सहयोग र अग्रसरतामा नेपाल चिनाउने काम गरिनै रहेका छौं ।

0 नेपाल सरकार, पर्यटन मन्त्रलाय, पर्यटन बोर्ड र पर्यटनसँग सरोकार राख्ने निकायलाई यहाँले केही सुझाव दिनुभएको छ ?
– नेपाल सरकारको सरोकारवाला निकायहरुमा पर्यटन दुतको हैसियतले मैले यहाँ भएका सकरात्मक प्रयासका बारेमा जानकारी गराएको छु । मैले के भन्दै आएको छु भने सक्छौं हामी पर्यटन पुर्बाधारको विकासमा गतिका साथ अघि बढौं, यदि सकिदैन् भने भएका पर्यटन पुर्बाधारलाई जोगाएर मात्रै राखौं भनेर सुझाव दिएको छु । यति मात्रै होइन्, भ्रमण बर्षमा पर्यटक बोक्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेका एयरलाइन्स कम्पनी कस्तो अवस्थामा छ, कतिवटा जहाज छन्, पर्यटकका लागि आवश्यक सुरक्षा, होटल लगायतका क्षेत्र संवेदनशिल हुनुपर्छ । नेपालले पाहुना बोलाएर सत्कार गर्न जान्नुपर्छ ।

0 यहाँको बिचारमा संभावना भएर पनि नेपालको पर्यटन विकास हुन नसक्नुको मुख्य कारण चाँही के होला ?
– नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउनु भनेको साँच्चिकै चुनौतीपूर्ण छ । संघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नका लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तर, अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कका कारण पर्यटन उद्योग बढी प्रताडित भएको छ । सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरूपता छैन । निजी क्षेत्रबाट भएको लगानीलाई एकीकृत र सरकारी प्राथमिकताका आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ । पर्यटन क्षेत्रमा खपत भइरहेको खाद्यान्नलगायतका सामाग्रीहरू आयातित नै भएको हुँदा आशातीत रूपमा फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा साहसिक खेल बन्जी जम्पिङ, हाइकिङजस्ता खेलको प्रयोग गरी पर्यटन आकर्षण गर्न सकिएको छैन् । पर्यटन क्षेत्रका साझेदार एवं लगानीकर्ताहरू पर्यटन विकासभन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेको छैन ।

0 नेपालको पर्यटन क्षेत्रमा लगानी कम भयो भन्ने पनि छ । यहाँलाई के लाग्छ ?
– पर्यटन क्षेत्र भनेको एक रुपैयाँ लगानी गरेर ६० रुपैयाँ कमाउन सकिने क्षेत्र हो । छिटपुट रुपमा पर्यटनको क्षेत्रमा लगानी पनि नभएको होइन् । तर सोचेअनुसारको लगानी अझैं बढेन सकेको छैन् । सरकारले भ्रमण बर्षको महाअभियान शुरु गर्दा पर्यटन पुर्बाधारको कहालीलाग्दो अवस्थाले एक पटक नेपाल गएर फर्किएको पर्यटकले नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना हुन थालेको छ । अर्कोतिर स्थानीय निकायको संलग्नतामा पर्यटनसम्बन्धी नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटनसम्बन्धी बन्ने नीतिमा अपनत्व भएन र प्रभावकारितामाथि प्रश्न उठ्यो, पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत सञ्चार, खानेपानीसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन नसक्दा पर्यटन क्षेत्रबाट आशा अनुरुपको सफलता हात नपरेको हो ।

0 कस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक छ ?
– पर्यटन व्यवसाय नेपालको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण मानिन्छ । तर यसप्रति नेपाल सरकार चनाखो हुन आवश्यक छ । नेपालको पर्यटन क्षेत्रलाई थप उर्बर बनाउनको लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक छ । अहिलेकै अवस्थामा विद्यमान पर्यटन पूर्बाधारबाट सोचे अनुरुपको अपेक्षा गर्न सकिने अवस्था छैन् । पलिो कुरा त नेपालको हवाई क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ । सरकारले पर्यटक बोक्नका लागि धेरै जहाज खरिद गर्न आवश्यक छ । यस्तै विमानस्थलको निर्माण तथा स्तरोन्नती, पदमार्ग क्षेत्रमा सुविधायुक्त बाटो निर्माण, होटल, संचार, बन्जी, हाइकिङ जस्ता क्षेत्रमा लगानी गर्न आवश्यक छ ।

0 सरकारले पर्यटन लगायतका अन्य क्षेत्रमा बाह्य लगानीका लागि वातावरण तय गरेको छ । बाह्य लगानीका लागि नेपालमा वातावरण कस्तो देख्नुहुन्छ ?
– नेपाल सरकारले पर्यटन विकासका लागि लगानी गर्न सक्नुपर्छ । किनभने पर्यटनबाट नेपालले राम्रै विदेशी मुद्रा आर्जन गर्न सक्छ । बाह्य लगानीको हकमा सरकारले बाह्य लगानी नेपालमा आकर्षित गर्नका लागि सुरक्षा र नीतिमा परिवर्तन गर्न आवश्यक छ । लगानीकर्ताले लगानीको प्रतिफल खोज्ने र त्यसको सुरक्षा खाज्ने भएकोले नेपाल सरकारले त्यही अनुरुपको वातावरण सिर्जना गर्नुपर्छ ।

0 प्रवासी नेपालीहरुले पनि हरेक एनआरएनए सम्मेलनका बेला नेपालको पर्यटन विकासमा लगानी गर्न इच्छा देखाउँछन् । तर फर्किएपछि सबै बिर्सिने गर्छन् । किन यस्तो हुन्छ ?
– हामी प्रवासी नेपाली नेपालमा लगानी गर्न इच्छुक छौं । नेपालमा लगानी नै नगरेको चाँही होइन । अहिलेसम्म नेपालको जलविद्युत क्षेत्रमा प्रवासी नेपालीले ठूलै लगानी गरेका छन् । फाट्टफुट्ट रुपमा पर्यटन क्षेत्रमा पनि प्रवासी नेपालीले लगानी गर्न शुरु गरेका छन् । हामीलाई नेपालप्रतिको माया छ । हामी सक्दो लगानी गरी सरकारलाई सहयोग गर्न तयार छौं । यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ ।

0 यहाँहरुसँग पुँजी र सिप दुबै छ । तर लगानीका लागि खासै तयार हुदैनन् भन्ने आरोप पनि लाग्ने गरेको छ नी ?
– मैले अघि नै पनि भनें । प्रवासमा रहेर पनि नेपालको पर्यटन, जलविद्युत, रियलस्टेटका क्षेत्रमा लगानी भएको छ । हामी लामो समयदेखि प्रवासमा रहँदा कमाएको सानो पुँजी र सिपलाई नेपाली माटोमै लगानी गर्न चाहेका छौं । प्रवासी नेपालीले पनि नेपालको विकास र विपतका बेला सानोतिनो सहयोग गरिरहेका छौं । वातावरण भएसम्म र हाम्रो क्षमताले भ्याएसम्म नेपालको हितमा लगानी गरेका छौं ।

0 अन्तमा, नेपालले पर्यटन बर्ष २०२० लाई सफल बनाउन कस्ता कस्ता क्षेत्रमा काम गर्नुपर्छ र यहाँको भूमिका के रहन्छ ?
– नेपाल संघीय ढाँचामा प्रवेश भैसकेको छ । समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचनाहरुको निर्माण गर्नुका साथै नयाँ परिस्थिति र अन्तराष्ट्रिय परिवेश अनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाई लागू गर्न आवश्यक छ । २०७२ बैशाखको भुकम्पबाट क्षतिग्रस्त संरचना र अमूल्य सम्पदाहरुको तत्काल पुनःनिर्माण, सुरक्षित, भरपर्दो हवाई सेवाको सुनिश्चितता र पूर्वाधार क्षेत्रमा लगानी बृद्धि गर्न जरुरी छ । यकिा साथै पर्यटन विविधिकरण तथा गुणस्तरमा बृद्धि, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने, व्यवसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारिकरणमा जोड दिँदै जानु आजको आवश्यकता हो । यि सबै समस्या समाधानका लागि प्रवासमा रहेका आम नेपालीहरु सकेको सहयोग गर्न तयार छन् । औपचारिक रुपमा नेपाल भ्रमण वर्षकार्यक्रम शुरु भएकोले प्रवासमा बस्ने सबै नेपालीले आफू बसेको राष्ट्रमा नेपालको बारेमा जानकारी दिन आवश्यक छ । जसलेका नेपालको पर्यटन विकासमा टेवा पुग्नेछ ।