कुनै समय भ्याइनभ्याई थियो नायिका नम्रता श्रेष्ठलाई । कामको प्रस्ताव धेरै आउन थालेपछि उनले कति दिन त मोबाइल अफ मात्र गरिनन् कि नम्बर पनि चेञ्ज गर्नुपरेको थियो । उनको यो व्यस्तता देखेर अन्य नायिकाहरू पनि रिसले डाह गर्दथे । तर, आज समयले कोल्टे फेरेको छ ।
अरूको नम्बर रिजेक्ट गर्ने नम्रताको नम्बर आज अरूले इग्नोर गर्न थालेका छन् । चलचित्र र म्युजिक भिडियोमा एकसाथ राम्रो उचाइ बनाएकी नम्रतालाई आज कामको अभाव भएको छ भने सबैभन्दा महँगो म्युजिक भिडियोकी मोडल भनेर चिनिने नम्रता साथीभाइसँग भन्न थालेकी छिन्, ‘पारिश्रमिकको के कुरा भयो र मिलिहाल्छ खेलौँ न ।’ तर सबै बलेकै आगो ताप्ने त हुन् नि, कसैले नम्रताको यो आग्रहलाई स्वीकार गरेको देखिन्न ।
एउटा गल्तीले गर्दा जीवनभर पछुताउने अवस्थामा पुगेकी नम्रताले अभिनय गरेको पछिल्लो चलचित्र ‘मिस यु’ पनि बेहालको अवस्थामा छ यतिबेला । मलेसियामा छायाङ्कन गरिएको चलचित्रको युनिट जब नेपालमा फरि्कयो तब हल्ला, खल्ला नै सुनसान भयो । यो सिनेमाको रिलिजपछि आफ्नो केही होला भन्ने आशामा रहेकी नम्रताको त्यो आशा पनि यतिबेला निराशामा परिणत भएको छ । समयमा चलचित्र रिलिज नहुँदा त्यसले पार्ने प्रभाव त्यति प्रभावकारी बन्न नसक्ने कुरा बुझेकी नम्रतालाई यतिबेला चाहिएको छ राम्रो र बलियो ब्यानरको चलचित्र, कोही छ नम्रतालाई लिने ?
आउ सुटुक्क बजारमा
यतिबेला सांगीतिक बजारमा नयाँ एल्बम ‘आउ सुटुक्क’ को चर्चा ब्यापक छ । ६ वटा गीत सङ्ग्रहित यस एल्बममा रत्नशमशेर थापाको एकल रचना सजिएका छन् भने चर्चित युवा संगीतकार नारायण ओलीले कर्णप्रिय सङ्गीत प्रदान गरेका छन् । निकै अघिदेखि नै प्रखर सङ्गीतकारको रूपमा परिचित र स्थापित नारायण ओलीको परिचय ‘आउ सुटुक्क×’पछि झन् फराकिलो भएको छ । यसबाट उनी गायकका रूपमा समेत थप परिचित बनेका छन् ।
रोमान्टिक, भावुक र पपजस्ता हरेक प्रकृतिका गीत-संगीतहरू समावेश गरिएको एल्बम ‘आउ सुटुक्क’लाई म्युजिक नेपालले बजारमा ल्याएको हो । बजारमा श्रोताहरूले खोजेको र चाहेकोजस्तै सिर्जना यस एल्बममा आफूले प्रस्तुत गरेको सङ्गीतकार नारायण ओली बताउँछन् ।
भुवन र दिलीपले भने-सेम टु यु
नायक भुवन केसी र दिलीप रायमाझीबीच के समानता छ ? जवाफ सबैको एउटै हुन सक्छ यी दुवै लेडी क्रेजी नायक हुन् । युवती भनेपछि पस्किएको भात पनि छाड्न तयार हुन्छन् यी दुई । चलचित्र क्षेत्रमा लामो समयदेखि यी दुईको हर्कत देख्नेहरूले माथि कुरालाई नकार्न पनि सक्दैनन् । फेरि असमानताको कुरा गर्ने हो भने यी दुवैको उमेर मिल्दैन अनि थर पनि मिल्दैन । अर्को कुरा, दिलीप गजवसँगै नाच्छन् भने भुवन पर्दामा म नाच्न आएको होइन अभिनय देखाउन आएको भनेर आफ्नो कमजोरी लुकाउँदै हिरो बन्न खोज्छन् ।
यी दुईबीचको समानता र असमानताको कुरा गर्दा असोज १ गते भने गजवकै समानता भेटियो र यो समानताले चलचित्र वृत्तमा रामै्र चर्चा पाउने देखिन्छ । उमेर नमिले तापनि यी दुवैका जन्मदिन भने असोज १ गते नै रहेछ । भुवनले मिडियालाई भने अनि दिलीपले पनि मिडियालाई बताए । तर दुवैलाई एक-अर्काको जन्मदिनबारे थाहा थिएन । पछि भुवन र दिलीप दुवैले थाहा पनि पाए । अनि जे कुरामा पनि हिरो बन्न खोज्ने भुवनले दिलीपलाई बधाई दिएछन्, ‘ह्याप्पी वर्थ डे ।’ उताबाट दिलीपको पनि जवाफ आयो, ‘सेम टु यु दाइ ।’ एकछिन् दुवै हाँसे । सुन्दा पनि अचम्म जन्मदिनको बधाई दिँदाखेरि सेम टु यु भन्नुपर्ने तर भइदियो यस्तै । अरूलाई छेड हान्न खप्पिस भुवनले त्यसै छाडेनन् दिलीपलाई ।
उनले थपिहाले, ‘यो केटो किन हिट भयो भनेको त म जन्मेको दिन जन्मिएर यो हिट भएको रहेछ ।’ आफूभन्दा सिनियरको यस्तो कुरा सुनेपछि दिलीप हाँसे मात्र, उनले जवाफ फर्काएनन् । जे होस्, दुवैलाई शुभकामना ।
प्रतिक्रिया