छैन बाबुरामसँग जादुको छडी

छैन बाबुरामसँग जादुको छडी


कुनै पनि सरकारको मूल्याङ्कन उसको हनिमुन पिरियड अर्थात् सय दिनपछि गर्ने गरिन्छ । सो अवधिमा उसले के-कस्तो काम गर्‍यो त्यसको आधारमा नै सरकारको समर्थन र आलोचना हुनुपर्छ । हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात हुन्छ भन्ने नेपाली उखान छ । डा. बाबुरामले प्रधानमन्त्रीको शपथको बेलामा नेपालमा जडित मुस्ताङ गाडी चढेर जुन सस्तो लोकप्रियता कमाएका थिए उनको त्यो लोकप्रियता पानीको फोकोजस्तै सावित भयो । उनी आफूले मुस्ताङे गाडी चढे पनि उनका सारथिहरूले विदेशमा बनेका करोडौँ पर्ने गाडी चढे । त्यो नियम उनले आप\mना मन्त्रीहरूका हकमा पनि लागू गर्न सकेका भए पो ‘बाबुरामले एउटा थिति बसाले है’ भनेर उपलब्धि मानिन सक्थ्यो । ‘ए ! बाबुराम भनेको बाबुराम नै रहेछन् है’ भन्ने ठाउँ रहेन अहिले त ।
देशमा अमनचयन, शान्तिसुरक्षालगायत यावत् समस्या प्रमले समाधान गर्छन् भने नेपाली जनता डा. भट्टराईले मात्र होइन जुन प्रधानमन्त्रीले दिनहुँ हेलिकोप्टरमा शयर गरे पनि विरोध गर्नेवाला थिएनन् र छैनन् पनि । नेपाली जनता महान् छन् । नेपाली जनतालाई अन्याय-अत्याचार सहने बानी परेको छ । होइन भने जनतालाई संविधान दिने झुटो आश्वासन बाँडेका ६०१ जना ‘हुतिहारा’हरूलाई पाल्न सक्ने नेपाली जनताले के एउटा प्रधानमन्त्रीलाई शानसँग पाल्न सक्दैनन् र –
पङ्क्तिकारको विचारमा त तत्कालीन समयमा विजय गच्छदारसहित सम्मिलित शेरबहादुर देउवाको सरकारलाई ४० सूत्रीय माग बुझाएर जङ्गल छिरेका बाबुरामका अगाडि प्रधानमन्त्री पद अहिले नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार भनेझैं भइरहेको छ । आफैंले अघिसारेको ४० बुँदे नै उनलाई अहिले गलपासो भइरहेको हुनुपर्छ । नेपालमा समूल परिवर्तनको नारा दिएका प्रधानमन्त्री डा. बाबुरामका अगाडि अहिले चुनौतीको भीमकाय पहाड भएर त्यो उभिएको छ । फलामको च्युरा चपाउने बलिया दाँत बाबुरामका छन् कि छैनन् अब भविष्यले नै बताउनेछ ।
हुन त जस्तो रोप्यो त्यस्तै फल्छ । विष रोपेर अमृतको आशा कदापि गर्न सकिँदैन । हिजो अरूले सरकारको नेतृत्व गर्दा तथाकथित परिवर्तनका नाममा लुट्ने, चोर्ने, काट्ने, मार्ने, हत्याहिंसा, अन्याय, अत्याचार, दूराचार, बलात्कार, आगजनी गर्न सिकाएकाहरूले अहिले आफ्नै सरकार भएको बेलामा अरूहरूले पनि त्यसो नर्लान् भन्न सकिँदैन । त्यसैले बाबुरामको सरकार पनि रामराज्य नहुने निश्चित नै छ ।
पढाइ र राजनीति अलग पाटा हुन् । नेपालको भौगोलिक कारण, राजनीतिक अस्थिरता, अशिक्षा, गरिबीले गर्दा छोटो समयममा नै माओवादीले सफलता पायो भन्दैमा डा. बाबुरामको सरकारले पनि सफलता पाउँछ भन्नु गलत हुन्छ । बाहिर बसेर विरोध गर्न जति सजिलो छ काम गर्न त्यति नै गाह्रो हुन्छ । अरूले बनाएको भत्काउन जति सजिलो हुन्छ तर बनाउन अति कठिन हुन्छ भन्ने त इन्जिनियर बाबुरामलाई राम्रै हेक्का होला । ।
हो, सिस्टममा चलेको देश हो भने डा. बाबुरामले केही गर्छन् कि भन्ने आशा हुन्थ्यो । तर, मनपरी ढङ्गले चलेको, तीन दलका नेता-कार्यकर्तालाई सात खत माफी भएको देशमा जो प्रधानमन्त्री भए पनि सिंहदरबारमा फोटो झुन्ड्याउने कामबाहेक अरू केही लछारपाटो लगाउँदैनन् । बाबुराम पनि यही देशका हुन् । उनले पनि यहीँको पानी खाएका हुन् । उनी कुनै अन्तरिक्षबाट आएका अजीव प्राणी होइनन् । उनमा जादुको छडी छैन । उनमा कुनै दैवीशक्ति पनि छैन । त्यसैले छिट्टै नेपाली जनताले भन्न थाल्नेछन्- जुन जोगी आए पनि कानै चिरेका !
अहिले त देश बाबुराममय भएको छ । अखबारका पानाहरू बाबुरामका लागि बधाईले भरिएका छन्, माघ १९ गते राजा ज्ञानेन्द्रले कदम चालेको बेलामा जस्तै । सुरुमा त उनले पनि वाहवाही पाएकै हुन्, तर समाजमा गन्हाएकाहरूलाई सारथि बनाएर हिँड्दा ज्ञानेन्द्रले मात्र होइन राजसंस्थाले नै दुर्गति व्यहोर्नुपरेको कुरा ताजै छ । त्यस्तै बाबुरामप्रति नेपाली जनताको जुन आशा थियो अब त्यो आशा विस्तारविस्तार मर्दै छ, उनको मन्त्रिपरिषद् विस्तारपछि । बाबुरामले एकातिर ०४६ पछि गन्हाएकाहरूलाई साथ लिएर हिँडेका छन् भने अर्कोतिर लडाकुहरू उनको गलपासो बनिरहेकै अवस्था छ । युद्ध जित्नका लागि त राम्रो सारथि चाहिन्छ । उचालेको कुकुरले मृग मार्दैन । लङ्गडो सारथिका भरमा युद्ध जितिँदैन । नेपाली जनताले यो हेक्का समयमै राख्दा राम्रो होला ।
-अनिलभक्त खरेल, हाल ः अमेरिका

अब गल्ती नदोहोरियोस्
महिला कामदारका लागि केयर गिभर र पुरुषका लागि कृषि मजदुरीका लागि आकर्षक गन्तव्य रहँदै आएको रोजगारदाता मुलुक इजरायलले नेपाली कामदारका लागि पुनः ढोका खोलिदिएको समाचार प्रकाशनमा आएको छ । यो हामीजस्ता बेरोजगार नेपाली युवाका लागि खुसीको कुरा हो । सन् २००९ को अप्रिलदेखि इजरायलले नेपाली कामदारका लागि ढोका बन्द गरिदएको थियो र त्यसको प्रमुख कारणका रूपमा उसले औंल्याएको थियो- नेपालका म्यानपावर कम्पनी तथा बिचौलियाहरूले रोजगारी खेज्नेहरूसँग मनपरी रकम असुल्नु । हुन पनि रोजगारदाता मुलुक/कम्पनीहरूसँग पुलको काम गरिदिएर सेवा उपलब्ध गराउने र त्यसबापत सुहाउँदो पारिश्रमिक असुल्नुपर्नेमा म्यानपावर एजेन्सीहरूले अचाक्ली नै ठगिरहेका थिए, अझै ठगिरहेका छन् । ह्रि्रु भाषा नै नजान्नेलाई पनि नक्कली कागजात तयार गरेर पठाउने र त्यहाँ पुगेपछि नेपाली युवाले कल्पना नै नगरेको दुःख पाउने गरेका थिए । यसमा सरकारले समेत आँखा चिम्लिदिएपछि त झन् के चाहियो – अन्ततः सुपथ मूल्यमा बेरोजगारलाई सेवा उपलब्ध नगराउने भए कोटा नै बन्द गरिदिने चेतावनी इजरायलले दियो र त्यसलाई बेवास्ता गरेकोले ढोका नै बन्द गरिदियो ।
अब पुनः कामका लागि इजरायल जान चाहनेहरूका लागि ढोका खुलेको छ । यो अवसरलाई दिगो रूपमा सदुपयोग गर्न नेपाल सरकार र म्यानपावर एजेन्सीहरू पनि गम्भीर हुनुपर्छ । विगतको गल्ती तथा कमी-कमजोरीबाट पाठ सिक्दै मनपरी रकम असुल गरेर गरिब युवालाई ठग्ने तथा मुलुकले पाएको मौका नै धरापमा पार्ने काम अब नगर्न सम्बन्धित सबैको ध्यान पुगोस् । यसबाट नेपाली युवाले राहत त पाउँछन् नै अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि पनि उचो हुनेछ ।
-सौरभ थपलिया, कमला र संगीता पन्त, हाल ः काठमाडौं