आँधीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

आँधीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो


फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामीण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौँ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरूको खोजी भइरहेको जानकारी दिए । प्रतिघन्टा १ सय ९५ किलोमिटरको गतिमा आएको आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरूले जनाएका छन् ।

त्यसैगरी सडक र विमानस्थलहरूमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो । खोजी तथा उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो ।

फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा सात हजार तीन सयजनाको मृत्यु भएको थियो ।
रासस–एएफपी